प्रधानमन्त्री बालेन्द्र साहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार र राहत वितरणमा राज्य संयन्त्र पूर्ण क्षमतामा परिचालित रहेको बताए।
प्रतिनिधिसभाको बुधवारको बैठकमा रसुवाको भोटेकोशीमा गएको विनाशकारी बाढीबारे ब्रिफिङ गराउँदै उनले यस्तो बताएका हुन्। उनका अनुसार हालसम्म ११ हजार ९ सय ९३ जनाको उद्धार गरिएको छ। उनले ३ हजार ९ सय १६ जना अझै सम्पर्कविहीन अवस्थामा रहेको बताए।
उनले बाढी प्रभावित क्षेत्रमा उद्धार गरी विभिन्न अस्पतालमा भर्ना गरिएका २ सय ९२ जना घाइतेमध्ये १ सय ८२ जना उपचारपछि डिस्चार्ज भइसकेका बताए। बाँकी घाइतेको स्वास्थ्य सुधारका लागि स्वास्थ्यकर्मीको टोली परिचालित रहेको उनले जानकारी दिए।
प्रधानमन्त्री शाहले प्रभावित नागरिकको उपचारका लागि काठमाडौंँबाट विशेषज्ञ चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमा पठाइएको बताए। उपचारसँगै बाढी प्रभावित नागरिकलाई मनोपरामर्श सेवा पनि उपलब्ध गराइएको उनको भनाइ थियो।
उनले बाढी प्रभावित क्षेत्रमा सम्भावित महामारी फैलिन नदिन विभिन्न रोकथाम तथा सचेतनामूलक अभियान सञ्चालन गरिएको पनि बताए। उनले रोगको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न माध्यमबाट नागरिकलाई आवश्यक सूचना प्रवाह भइरहेको समेत बताए।
उनले भने, ‘केहीबेर अघिसम्म ११ हजार ९ सय ९३ जनाको उद्धार गरिसकेका छौँ। ३ हजार ९ सय १६ जना सम्पर्कविहीन हुनुहुन्छ। उद्धार गरेर विभिन्न अस्पतालमा भर्ना गरिएका २ सय ९२ जना घाइतेमध्ये केहीबेर अघिसम्म १ सय ८२ जना डिस्चार्ज भइसक्नुभएको छ। बाँकी घाइतेहरूको स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्यकर्मीहरू लागिरहनुभएको छ। हामीले काठमाडौंबाट विशेषज्ञसहितको टोली प्रभावित क्षेत्रका नागरिकको उपचारका लागि खटाइरहेका छौँ। उपचारसँगै प्रभावित क्षेत्रका नागरिकलाई मनोपरामर्श सेवा पनि उपलब्ध गराइरहेका छौँ। साथै प्रभावित क्षेत्रमा कुनै पनि महामारी फैलिन नदिन विभिन्न अभियान चलाइरहेका छौँ। प्रभावित क्षेत्रमा रोगको रोकथामका लागि विभिन्न माध्यमबाट सूचना प्रवाहसमेत भइरहेको छ।’
उनले बाढीमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित नागरिकको साथमा सरकार रहेको समेत बताए।
