एभरेस्ट कला केन्द्र, युएसएको आयोजनामा अमेरिकाको ओहायो राज्यस्थित रेनल्सबर्गको वेलकम इभेन्ट सेन्टरमा हालै उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बालिकाहरूले नेपाली मौलिक नृत्य प्रस्तुत गर्नुका साथै देउसी–भैलो खेलेका थिए। नेपाली चाडपर्वको सांस्कृतिक महत्त्व झल्काउने कार्यक्रममा ज्येष्ठ नागरिकलाई सम्मानसमेत गरिएको थियो।
कार्यक्रममा नेपाली समुदायका अभिभावक, बालबालिका तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाअन्तर्गत ओहायो च्याप्टरका अध्यक्ष विजय बुढाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चर्चित गायक तथा कलाकार बाबु बोगटीले सांगीतिक प्रस्तुति दिएका थिए।
नेपाली चलचित्र तथा टेलिभिजन क्षेत्रमा करिब २५ वर्ष बिताएकी लामिछाने पछिल्लो समय अमेरिकामा नेपाली कला र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा यसको हस्तान्तरण गर्ने अभियानमा सक्रिय छिन्।
उनले सन् २०२५ जुनमा अमेरिकाको ओहायो राज्यस्थित रेनल्सबर्गमा एभरेस्ट कला केन्द्र स्थापना गरेकी थिइन्। हाल उक्त केन्द्रमा नेपाली समुदायका एक सयभन्दा बढी बालबालिकाले नृत्य तथा सांस्कृतिक प्रशिक्षण लिइरहेका छन्।
लामिछानेका अनुसार विदेशमा बसाइँ सर्दैमा कलाकारभित्रको सिर्जनशीलता र सांस्कृतिक जिम्मेवारी समाप्त हुँदैन। नयाँ परिवेशमा पनि आफ्नो कलाकारितालाई निरन्तरता दिने र नेपाली बालबालिकालाई मौलिक कला तथा संस्कृतिसँग जोड्ने उद्देश्यले कला केन्द्र स्थापना गरेकी हुन्।
उनका लागि एभरेस्ट कला केन्द्र नृत्य सिकाउने संस्था मात्र नभई नेपाली सांस्कृतिक पहिचान जोगाउने र नयाँ पुस्तामा हस्तान्तरण गर्ने माध्यमसमेत बनेको छ।
केन्द्रको उद्देश्य बालबालिकालाई नृत्यमा दक्ष बनाउनुमा मात्र सीमित छैन। उनीहरूमा अनुशासन, राम्रो संस्कार, आत्मविश्वास र नेपाली संस्कृति तथा पहिचानप्रति गर्व गर्ने भावना विकास गराउनु पनि आफ्नो प्राथमिकता रहेको लामिछाने बताउँछिन्।
बालबालिकाको कलात्मक क्षमतासँगै उनीहरूको व्यवहार र व्यक्तित्वमा समेत सकारात्मक परिवर्तन ल्याउने लक्ष्य केन्द्रले राखेको छ।
यसैगरी, लामिछानेले निकट भविष्यमा एभरेस्ट कला केन्द्रमा नेपाली भाषाको कक्षा सञ्चालन गर्ने योजना पनि अघि सारेकी छन्। बालबालिकाको नेपाली भाषा बुझ्ने र बोल्ने क्षमता विकास भएपछि अभिनय, संवाद, अभिव्यक्ति तथा मञ्च प्रस्तुतिसम्बन्धी प्रशिक्षणसमेत विस्तार गर्ने उनको तयारी छ।
आफूले नेपाली चलचित्र तथा टेलिभिजन क्षेत्रमा हासिल गरेको अभिनय अनुभव नयाँ पुस्तासँग बाँड्ने चाहना रहेको लामिछानेको भनाइ छ। यसले बालबालिकाको बोल्ने शैली, प्रस्तुति क्षमता र आत्मविश्वास अभिवृद्धिमा सहयोग पुग्ने उनको विश्वास छ।
