अमेरिकी तल्लो र माथिल्लो दुवै सदनमा डेमोक्र्याटहरूले बहुमत हासिल गर्ने संकेत देखिएको छ। गभर्नर पदमा पनि रिपब्लिकनभन्दा डेमोक्र्याट उम्मेदवारहरू बढी विजयी भएका छन्।
रिपब्लिकन पार्टीको पराजयबीच ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत पहिलो प्रतिक्रिया दिएका छन्। ट्रम्पले लेखेका छन्, ‘म चुनावमा थिइनँ। यदि म भएको भए, हामीले भारी मतले जित्ने थियौँ।’
यो छोटो बयानमार्फत ट्रम्पले चुनावी हारको दोष रिपब्लिकन उम्मेदवारहरूलाई लगाएको देखिन्छ। धेरै रिपब्लिकन नेताहरू यसअघि नै मध्यावधि निर्वाचनमा ट्रम्पको अडानप्रति असन्तुष्ट थिए।
प्रतिनिधिसभाको नियन्त्रण गुमाउने र सिनेटमा समेत बहुमत गुमाउने सम्भावनाबीच ट्रम्पको बयानले पार्टीभित्रको विभाजनलाई अझ बढाउन सक्छ।
सीबीएसको अनुमानअनुसार डेमोक्र्याटहरूले रिपब्लिकन पार्टीबाट प्रतिनिधिसभाको नियन्त्रण खोस्न सक्छन्। ४३५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि २१८ सिट आवश्यक पर्छ। सीबीएसका अनुसार डेमोक्र्याटहरू कम्तीमा २१८ सिट जित्ने अवस्थामा छन् भने रिपब्लिकन पार्टीले कम्तीमा १६० सिट जित्ने अनुमान गरिएको छ।
प्रतिनिधिसभा अमेरिकी कांग्रेसको तल्लो सदन हो। यसका सदस्यहरूले दुई वर्षको कार्यकाल पूरा गर्छन्। सामान्यतया कानुन पहिले प्रतिनिधिसभामा पेस गरिन्छ र त्यहाँ बहस भएपछि सिनेटमा पठाइन्छ। यस्तो अवस्थामा आफ्ना निर्णय सिनेटबाट पारित गराउन ट्रम्पलाई सहज हुने छैन।
