काठमाडौँ । चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अभियान चलाउँदै आएका प्रा. डा. गोविन्द केसीका माग सम्बोधन गर्ने उद्देश्यले सरकारले वार्ता समिति गठन गरेको छ। बुधबार शिक्षा मन्त्रालयले सहसचिव जयराम अधिकारीको नेतृत्वमा समिति बनाएको हो।
समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव, चिकित्सा शिक्षा आयोगका सदस्य सचिव र शिक्षा मन्त्रालयका एक उपसचिव सदस्यका रूपमा रहनेछन्।
डा. केसी चिकित्सा शिक्षा आयोगले पूर्वाधार तथा कानुनी मापदण्ड पूरा नगरेका संस्थालाई एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको र विद्यार्थी भर्ना सिटसमेत बढाएको भन्दै विरोधमा अनशनरत छन्। उनले आयोगको उक्त निर्णय तत्काल खारेज गर्नुपर्ने माग अघि सारेका छन्।
त्यसैगरी, आयोगका उपाध्यक्ष तथा मेडिकल विश्वविद्यालयका पदाधिकारीहरूबीच स्वार्थको द्वन्द्व रहेको आरोप पनि डा. केसीले लगाउँदै आएका छन्। आयोगका निर्णय र चिकित्सा शिक्षा क्षेत्रको नियमन प्रक्रियामा सुधार हुनुपर्ने उनको माग छ।
