सिँचाइ आयोजनामा पहिलो त्रैमासिकमै २३९ करोड खर्च, ८८ प्रतिशत रकम निर्माणमा
- आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा जलस्रोत तथा सिँचाइ विभागले २३९.३ करोड रुपैयाँ खर्च गरेको छ।
- कुल खर्चमध्ये ८८ प्रतिशत रकम पुँजीगत अर्थात् निर्माणसम्बन्धी काममा उपयोग भएको छ।
- महाकाली, बबई, सिक्टा र रानी जमरा कुलरिया गरी चार ठूला आयोजनामा मात्रै १३९ करोड रुपैयाँ खर्च भएको छ।
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिँचाइ आयोजनाहरूको खर्च र भौतिक प्रगति उत्साहजनक देखिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले पहिलो तीन महिनामा कुल २३९.३ करोड रुपैयाँ खर्च गरेको छ।
विभागका महानिर्देशक दिनेश रजौरियाका अनुसार खर्च भएको रकममध्ये ८८ प्रतिशत निर्माण तथा अन्य पुँजीगत कार्यमा लगानी गरिएको छ।
यस अवधिमा महाकाली सिँचाइ आयोजनाले सबैभन्दा राम्रो भौतिक प्रगति गरेको छ। कञ्चनपुरस्थित उक्त आयोजनाले त्रैमासिक भौतिक लक्ष्यको ९७.२ प्रतिशत काम सम्पन्न गरेको छ। आयोजनामा ४३.७ करोड रुपैयाँ खर्च भएको छ, जुन निर्धारित त्रैमासिक बजेटको तुलनामा अढाई गुणाभन्दा बढी हो।
त्यस्तै, बबई सिँचाइ आयोजनाले ८१.८ प्रतिशत, सिक्टा सिँचाइ आयोजनाले ८०.२ प्रतिशत र रानी जमरा कुलरिया आयोजनाले ७१ प्रतिशत भौतिक प्रगति हासिल गरेका छन्।
यी चार ठूला आयोजनामा मात्रै १३९ करोड रुपैयाँ खर्च भएको विभागले जनाएको छ। यो विभागको कुल खर्चको करिब ५८ प्रतिशत हो।
विभागका अनुसार दाङको प्रगन्ना–बड्कापथ आयोजनाले ८८.२ प्रतिशत प्रगति गरेको छ। यस्तै, गहिरो ट्युबवेल सिँचाइ आयोजना र सिँचाइ संस्थागत विकास कार्यक्रमले निर्धारित शतप्रतिशत लक्ष्य पूरा गरेका छन्।
महानिर्देशक रजौरियाका अनुसार तयारी पूरा भएका आयोजनामा बजेट र निर्माण कार्यले गति लिएका छन्। दोस्रो त्रैमासिकमा ढिलो गरी सुरु भएका आयोजनाहरूलाई समेत प्रभावकारी रूपमा अघि बढाउने गरी विभागले काम गरिरहेको छ।
