प्रभु बैंकबाट लिएको कर्जा अन्यत्र लगानी गरेको र सेयर खरिदमा प्रयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष
काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छोरा दीक्षान्त बानियाँ बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई कात्तिक १६ गते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४, भैरहवाबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याएको हो ।
प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाउन अदालतबाट चार दिनको म्यादसमेत लिएको छ । सीआईबीका अनुसार दीक्षान्तमाथि प्रभु बैंकबाट लिएको ३४ करोड रुपैयाँ कर्जा निर्धारित उद्देश्यविपरीत प्रयोग गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।
सीआईबीका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार प्रारम्भिक अनुसन्धानमा ऋण जुन प्रयोजनका लागि लिइएको थियो, त्यसमा खर्च नगरी अन्य क्षेत्रमा लगानी गरेको देखिएको छ । उनले कर्जाको रकम अन्यत्र परिचालन गरी अपचलन गरेको प्रारम्भिक तथ्य भेटिएको जानकारी दिएका छन् ।
प्रहरीका अनुसार बानियाँ निर्माण सेवा प्रालि, बानियाँ सप्लायर्स प्रालि र भुगर्भ सिमेन्ट कम्पनीका नाममा प्रभु बैंकबाट ३४ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । उक्त रकम अन्य बैंक खातामा स्थानान्तरण गर्नुका साथै सेयर बजारमा समेत लगानी गरिएको अनुसन्धानबाट खुलेको सीआईबीको भनाइ छ ।
प्रारम्भिक अनुसन्धानमा सेयर ब्रोकरको खातामा रकम जम्मा गरेर सेयर खरिद गरेको तथ्य पनि भेटिएको प्रहरीले जनाएको छ । बैंकबाट लिएको कर्जा स्वीकृत प्रयोजनभन्दा फरक क्षेत्रमा प्रयोग गर्नु बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ विपरीत हुने कानुनी व्यवस्था छ ।
यस प्रकरणमा प्रहरीले कर्जाको रकम कहाँ–कहाँ परिचालन भयो र त्यसको प्रयोग कसरी गरियो भन्ने विषयमा थप अनुसन्धान गरिरहेको छ ।
