काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगनकुमार थापामाथि लागेको १८ करोड रुपैयाँसम्बन्धी आरोपलाई सुरुवात मात्रै भएको दाबी गरेका छन्। उदयपुर पुगेर उनले थापासँग जोडिएका अन्य विषय पनि सार्वजनिक हुन बाँकी रहेको संकेत गरेका हुन्।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा बिचौलियासँग आर्थिक लेनदेन गरेको आरोप थापामाथि लागेपछि उनले त्यसको खण्डन गरिसकेका छन्। तर बस्नेतले भने उक्त प्रकरणलाई थापाको कथित अनियमितताको ‘ट्रेलर’ मात्र भएको टिप्पणी गरेका छन्।
आफूले सुरुदेखि नै थापाको नेतृत्वमाथि प्रश्न उठाउँदै आएको उल्लेख गर्दै बस्नेतले अहिले पार्टीभित्र ठूलो समूह आफ्नो धारणाको पक्षमा उभिएको दाबी गरे। स्वास्थ्य मन्त्रालयसँग जोडिएका विषय र त्यहाँ भएको भनिएको बाँडफाँटबारे छानबिन भए थप विवरण बाहिर आउने उनको भनाइ छ।
बस्नेतले थापामाथि कांग्रेसप्रति गद्दारी गरेको आरोपसमेत लगाए। उनले थापा प्रधानमन्त्री बन्न नसक्ने टिप्पणी गर्दै व्यङ्ग्यात्मक रूपमा भने, ‘प्रधानमन्त्री होइन, उहाँ चाहनुभयो भने जेलको चौकीदार चाहिँ हुन सक्नुहुन्छ।’
थापामाथि उठेका आरोपको निष्पक्ष न्यायिक छानबिन हुनुपर्ने माग पनि बस्नेतले गरेका छन्। सामाजिक सञ्जालमा प्रतिक्रिया दिनुभन्दा सरकारले आरोपको सत्यतथ्य पत्ता लगाउनुपर्ने र दोषी देखिएकालाई कानुनी दायरामा ल्याउनुपर्ने उनले बताए।
‘गगन थापाजीको पनि छानबिन गर्नुस्। छानबिनको प्रक्रिया पूरा गरेर गल्ती गरेको पुष्टि भए कारबाही गर्नुपर्छ, थुन्नुपर्छ,’ बस्नेतले भने।
कांग्रेस विभाजन भइसकेको दाबी गर्दै उनले पार्टीको आधिकारिकता आफूहरूकै पक्षमा आउने जिकिरसमेत गरेका छन्।
