यी ब्यान्डहरूको विकासक्रममा अनिल तामाङ अर्थात् गोङ्बा स्पाइक्सको भूमिका महत्त्वपूर्ण रह्यो। उनी विभिन्न ब्यान्डमा मुख्य गायक तथा गीतकारका रूपमा सक्रिय थिए। त्यतिबेला गोङ्बा अप्ठ्यारोमा आबद्ध थिए भने लभ शेर्पा र साहिल सेन रेट्रो रकेटमा थिए।
तर, इटहरीको रक संगीतले गति लिइरहेकै समयमा ब्यान्डहरू टुट्ने र नयाँ समूह बन्ने क्रम पनि चलिरहेको थियो। यही क्रममा रेट्रो रकेट विघटन भयो भने अप्ठ्यारोले पनि विभिन्न चुनौती सामना गर्नुपर्यो। दुवै ब्यान्डले भने आफ्नो मौलिक संगीत सिर्जनाको यात्रालाई निरन्तरता दिइरहेका थिए। उनीहरूसँग रेकर्ड गर्न बाँकी गीतहरूको सङ्ख्या पनि उल्लेख्य थियो।
यही परिस्थितिमा गोङ्बा स्पाइक्स, लभ शेर्पा र साहिल सेन एकै ठाउँमा आएर नयाँ ब्यान्ड बनाउने निर्णयमा पुगे। उनीहरूका साथी विशालले प्रस्ताव गरेको ‘चुम्बक’ नामलाई स्वीकार गर्दै नयाँ सांगीतिक यात्राको सुरुवात गरे। यसरी इटहरीमा चुम्बक ब्यान्डको जन्म भयो।
सुरुवातमा सामान्य जमघट र संगीतप्रतिको साझा रुचिबाट अघि बढेको चुम्बकले करिब पाँच वर्षको अवधिमा आफ्नो पहिचान फराकिलो बनाएको छ। अन्डरग्राउन्ड संगीतबाट सुरु भएको ब्यान्ड अहिले नेपाली रक संगीतको मूलधारमा समेत स्थापित हुँदै गएको छ।
नेपाली रक क्षेत्र तुलनात्मक रूपमा सुस्ताएको समयमा चुम्बकले आफ्नो सक्रियतामार्फत यस विधालाई पुनः चर्चामा ल्याउन योगदान दिइरहेको छ। युवा पुस्तामाझ ब्यान्डका गीतको लोकप्रियता, नेपाल तथा विदेशमा भइरहेका सांगीतिक प्रस्तुति र निरन्तर सार्वजनिक भइरहेका नयाँ सिर्जना यसको उदाहरण हुन्।
हाल ब्यान्डमा गोङ्बा स्पाइक्स मुख्य भोकलमा छन्। इस्कु र लभले गिटार, विवेकले बेस गिटार तथा सञ्जयले ड्रम्स सम्हालिरहेका छन्। यसअघि ब्यान्डसँग जोडिएका साहिल सेन भने पछिल्लो समय सार्वजनिक सांगीतिक गतिविधिमा देखिएका छैनन्।
चुम्बक अहिले नयाँ एल्बम ‘नेपाली गतिविधि’ सार्वजनिक गर्ने तयारीमा जुटिरहेको छ। ब्यान्डका अनुसार एल्बमका अधिकांश गीत म्युजिक स्ट्रिमिङ प्लेटफर्ममा उपलब्ध भइसकेका छन्।
यसअघि चुम्बकले ‘बगेको बग्यै’, ‘पर्खिदिन’ र ‘चुम्बक’ नामका ईपी सार्वजनिक गरिसकेको छ। त्यस्तै, ‘सपना भयो महँगो’ र ‘जोश’ नामका एल्बम पनि बजारमा ल्याइसकेको छ। यीबाहेक विभिन्न सिंगल गीतसमेत सार्वजनिक गरेको ब्यान्डसँग अहिले ५० भन्दा बढी मौलिक सिर्जना छन्।
चुम्बकको सांगीतिक यात्रामा मौलिक सिर्जनालाई दिएको प्राथमिकता मुख्य विशेषता बनेको छ। ब्यान्डका फ्रन्टम्यान गोङ्बा स्पाइक्सले अप्ठ्यारोमा रहँदा कभर गीत गाउने प्रयाससमेत गरेका थिए। तर, त्यसमा आफूलाई सहज महसुस नगरेपछि उनी मौलिक संगीततर्फ केन्द्रित भए।
मौलिक संगीतप्रतिको यही प्रतिबद्धतालाई प्रवर्द्धन गर्न चुम्बकका सदस्यहरूले इटहरीमा ‘नो कभर्स डे’ नामक कार्यक्रमसमेत आयोजना गर्दै आएका छन्। कार्यक्रममा इटहरी तथा आसपासका क्षेत्रका मौलिक संगीत सिर्जना गरिरहेका ब्यान्डहरू सहभागी भएर सँगै जामिङ गर्छन्।
चुम्बकको सिर्जनात्मक शैली बुझ्न ‘पर्खिदिन’ गीत पनि एउटा उदाहरण हो। ब्यान्डले यो गीत लेखन, कम्पोजिसन, रेकर्डिङ र एरेन्जमेन्टसहित एकै दिनमा तयार पारेको थियो। यो चुम्बकका रूपमा ब्यान्डले म्युजिक स्ट्रिमिङ प्लेटफर्ममा सार्वजनिक गरेको पहिलो गीतसमेत हो।
एकै दिनमा गीत तयार पार्ने शैली चुम्बकका लागि नौलो होइन। ब्यान्डले छोटो समयमै तयार पारेका अन्य गीतहरूको सङ्ख्या पनि उल्लेख्य छ। यसको एउटा आधार सदस्यहरूकै स्वामित्वमा रहेको केएलएम रेकर्ड्स स्टुडियो हो। आफ्नै स्टुडियो भएकाले गीत निर्माण, रेकर्डिङ र प्रयोगमा उनीहरूलाई सहज भएको छ।
चुम्बकको मुख्य सांगीतिक गतिविधिसँगै सदस्यहरूले अन्य संगीत परियोजनामा पनि काम गरिरहेका छन्। त्यसमध्ये ‘अटोबट्स’ एउटा महत्त्वपूर्ण परियोजना हो, जुन चुम्बक गठन हुनुअघि नै सुरु गरिएको थियो। यस परियोजनाअन्तर्गत चारवटा गीत समेटिएको ईपी सार्वजनिक भइसकेको छ। उक्त ईपीका अधिकांश गीत पनि एकदेखि दुई दिनभित्रै तयार पारिएका थिए।
सांगीतिक प्रस्तुतिका हिसाबले चुम्बकका गीत सरल र सहज छन्। गीतका शब्दमा जटिलता कम हुनुका साथै संगीत संयोजन पनि धेरै भारी छैन। तर, श्रोताको ध्यान तान्ने र संगीतको तालमा झुमाउने क्षमता भने गीतहरूमा देखिन्छ।
ब्यान्डका सदस्यहरू गीत सिर्जनाका लागि कुनै निश्चित सिद्धान्त वा सूत्र पछ्याउँदैनन्। उनीहरूबीचको सामान्य छलफल, भेटघाट र सांगीतिक जमघटबाटै अधिकांश गीत तयार हुने गरेका छन्। व्यक्तिगत अनुभवलाई गीतमा उतार्नु पनि उनीहरूको सिर्जनात्मक प्रक्रियाको एउटा हिस्सा हो।
गीत सुन्दा रमाइलो अनुभूति हुनु र संगीतको तालमा श्रोता झुम्न सक्नु नै चुम्बकका लागि मुख्य कुरा हो। जब कुनै सिर्जनाले ब्यान्डका सदस्यलाई आकर्षित गर्छ, त्यसलाई आफ्नो सांगीतिक सूचीमा समेट्ने गरिन्छ।
जबरजस्ती गीत लेख्ने वा कम्पोज गर्नेभन्दा स्वाभाविक रूपमा सिर्जना हुने संगीतलाई प्राथमिकता दिने चुम्बकको शैली छ। सरल शब्द र सहज संगीत संयोजनलाई महत्त्व दिने यही दृष्टिकोणले ब्यान्डलाई नेपाली रक एन्ड रोल क्षेत्रमा छुट्टै पहिचान बनाउन सहयोग गरेको छ।
