दिवङ्गत पोखरेलप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शुक्रबार पशुपति आर्यघाट पुगेका थिए। उनले पोखरेलको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान प्रकट गरे।
त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा र पूर्वसभामुख देवराज घिमिरेलगायतले पनि आर्यघाट पुगेर श्रद्धाञ्जली अर्पण गरे। उनीहरूले लोकतन्त्र स्थापनाका लागि पोखरेलले पुर्याएको योगदानको स्मरण गर्दै सम्मान व्यक्त गरेका थिए।
पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलकी आमा रहेकी रनधता पोखरेलप्रति श्रद्धाञ्जली दिन एमाले सचिव भानुभक्त ढकाल, पूर्वमन्त्री पार्वत गुरुङ, संघीय सांसद, प्रदेशसभा सदस्य तथा बागमती प्रदेशकी पूर्वमन्त्री रचना खड्कालगायतका नेताहरू पनि आर्यघाट पुगेका थिए।
पञ्चायतकालमा राजनीतिक गतिविधिका कारण भूमिगत जीवन बिताइरहेका एमाले अध्यक्ष ओली, पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा नेताहरू अमृत बोहरा, केशव बडाल र माधव पौडेललगायतलाई उनले दोलखामा आश्रय दिएकी थिइन्।
पोखरेलको शुक्रबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनका दुई छोरा र दुई छोरी छन्।
