काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारको समयमा देखिने झिलिमिली बत्तीले विगतको लोडसेडिङको अवस्थालाई स्मरण गराउने बताएका छन्।
तिहारको अवसरमा शुभकामना सन्देश जारी गर्दै घिसिङले २०७३ सालअघिको कठिन समय सम्झिएका हुन्। कुनै समय विद्युत् अभावका कारण उज्यालोको पर्व तिहारसमेत अन्धकारमै मनाउनुपर्ने अवस्था रहेको उनले उल्लेख गरेका छन्।
उनका अनुसार नागरिकको विश्वास, सहयोग र निरन्तर प्रयासका कारण देशलाई लोडसेडिङको अवस्थाबाट मुक्त गर्न सम्भव भएको थियो। अहिले देशका अधिकांश घरपरिवारमा विद्युत् सेवा पुगेको र नेपाली बिजुली विदेशमा समेत निर्यात हुन थालेको उनले बताएका छन्।
घिसिङले विगतमा विद्युत् अभावको समस्या समाधान गरेजस्तै अब मुलुकमा विद्यमान भ्रष्टाचार, गरिबी, बेरोजगारी, अन्याय, अव्यवस्था र निराशाविरुद्ध पनि अभियान अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
चुनौतीहरू आए पनि परिवर्तन र समृद्धिको यात्राबाट पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्दै उनले अन्धकार हटाउन अरूलाई दोष दिनुभन्दा आफैँ उज्यालोको माध्यम बन्नुपर्ने सन्देश दिएका छन्।
विगतमा प्राप्त साथ, सहयोग र विश्वासका लागि नागरिकप्रति आभार व्यक्त गर्दै घिसिङले आगामी दिनमा सुशासन, सामाजिक न्याय र समृद्ध नेपाल निर्माणको अभियानमा पनि जनताको साथ र सहयोग रहने विश्वास व्यक्त गरेका छन्।
