जाडोबाट पशुचौपायालाई जोगाउन किसानले संखुवासभाको नुनढाकी, मादीको माथिल्लो क्षेत्र तथा तेह्रथुमको श्रीजुङ र मोराहाङका उच्च भेगबाट गोठ बेसीतर्फ सारेका हुन्।
केही महिनाअघिसम्म याक–चौरीका घण्टी र गोठालाका आवाजले गुञ्जायमान रहने उच्च खर्कहरू अहिले बिस्तारै खाली हुँदैछन्। हिमपात सुरु भएपछि चरन क्षेत्र हिउँले ढाकिने, पानीका मुहान जम्ने र चिसो हावा चल्ने भएकाले उच्च क्षेत्रमा चौरी चराउन कठिन हुने गर्छ। रातको तापक्रम शून्य डिग्रीसम्म झर्ने हुँदा पशुका साथै गोठालालाई समेत त्यहाँ बस्न समस्या हुन्छ। त्यसैले किसानले मौसमअनुसार वर्षौंदेखि गोठ सार्ने परम्परा अपनाउँदै आएका छन्।
ताप्लेजुङको तोक्पेगोलाबाट याक–चौरीका बथान लिएर बेसी झरेका लाबाङ भोटेका अनुसार बेसीसम्म आइपुग्न उनीहरूलाई करिब एक महिना पैदल यात्रा गर्नुपरेको थियो।
उनले भने, “हिमपात सुरु भएपछि चौरीलाई मात्र होइन, मानिसलाई समेत उच्च क्षेत्रमा बस्न कठिन हुन्छ। त्यसैले हामी एक महिनाको पैदल यात्रापछि याक–चौरीका बथान लिएर बेसी झरेका हौँ। अहिले उधौलीको समय हो। करिब चार महिनासम्म यहाँ राखेपछि फेरि माथिल्लो खर्कमा लैजान्छौँ।”
मौसम अनुकूल भएपछि पुनः उच्च हिमाली खर्कमा फर्कनु याक–चौरीपालक समुदायको परम्परागत जीवनशैली हो। पुस्तौँदेखि निरन्तर चल्दै आएको यस अभ्यासले हिमाली क्षेत्रको पशुपालन र स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्याउँदै आएको योक्पु भोटे बताउँछन्।
उच्च खर्कबाट बेसी झरेका किसानले अस्थायी गोठ निर्माण गरी चौरी चराउन थालेका छन्। उनीहरूले दूधबाट विभिन्न परिकार उत्पादन गर्ने कामसमेत सुरु गरेका छन्। केही समयअघि सुनसान रहने बेसीका क्षेत्रमा अहिले गोठालाको आवतजावत र पशुचौपायाको चहलपहल बढेको गुफा बजारकी हिमा खनालले बताइन्।
यस क्षेत्रका किसानका लागि याक–चौरीपालन परम्परागत पेसासँगै आम्दानीको प्रमुख स्रोत पनि हो। चौरीको दूधबाट घ्यू, मही र छुर्पीजस्ता परिकार उत्पादन गरी स्थानीय तथा बाह्य बजारमा बिक्री गरिन्छ। यसका अतिरिक्त याक तथा चौरीको बिक्री र प्रजननबाट पनि किसानले आम्दानी गर्दै आएका छन्।
यद्यपि, पछिल्लो समय यो व्यवसायले बजार व्यवस्थापनको समस्या झेलिरहेको छ। विशेषगरी चीनसँगको सीमा व्यापार सहज नहुँदा याक–चौरी तथा तिनबाट उत्पादित वस्तुको बिक्री प्रभावित भएको किसानहरूको भनाइ छ। विगतमा सीमापार व्यापारबाट समेत आम्दानी गर्दै आएका किसान अहिले बजारको सीमितताका कारण समस्यामा परेको तेन्जिङ शेर्पाले बताए।
याक–चौरीपालनलाई निरन्तरता दिन पर्याप्त चरन क्षेत्र, पशु स्वास्थ्य उपचारको सुविधा र सहज बजार पहुँच मुख्य चुनौतीका रूपमा देखिएका छन्। उच्च हिमाली खर्कदेखि बेसीसम्म पशु चराउन उपयुक्त क्षेत्र आवश्यक पर्ने भए पनि सबै स्थानमा पर्याप्त चरन उपलब्ध छैन। त्यस्तै, बिरामी पशुको उपचारका लागि सहज सेवा नहुँदा किसानले थप जोखिम र आर्थिक भार व्यहोर्नुपरेको छ।
