२३ कात्तिक, काठमाडौं । गत भदौ १० गते आएको बाढीबाट क्षति पुगेको रसुवाको स्याफ्रुबेँसीस्थित पुल पुनर्निर्माणपछि पुनः सञ्चालनमा आएको छ।
नेपाल रेडक्रस सोसाइटी, गोसाइँकुण्ड र आमाछोदिङमो गाउँपालिकाका वडा प्रतिनिधि तथा कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त श्रमदानबाट पुलको पुनर्निर्माण तीन दिनमै सम्पन्न भएको हो।
पुल निर्माणका लागि आवश्यक सामग्री तथा मिस्त्रीको ज्याला नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराएको जनाइएको छ।
नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य शारदा कुमार न्यौपानेले विपद्का बेला विभिन्न निकाय र स्थानीय समुदायबीच भएको सहकार्य तथा एकताका कारण छोटो समयमै पुल पुनर्निर्माण सम्भव भएको बताए। उनले सामूहिक प्रयासबाट सम्पन्न भएको यो कामलाई उदाहरणीय भएको उल्लेख गरे।
