जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार ब्रह्मपुरी गाउँपालिका–२ स्थित धनैस साह कलवारको कुखुरा फार्म र सोही स्थानका सन्तोष साहको घरमा जुवा खेल भइरहेको सूचनापछि प्रहरीले कारबाही अघि बढाएको थियो।
प्रहरी टोलीले कुखुरा फार्मबाट १० जना र सन्तोष साहको घरबाट सात जनालाई नियन्त्रणमा लिएको हो। यस्तै, मलंगवा नगरपालिका–८ स्थित कोल्ड स्टोरनजिक भागनारायण चौधरीको घरमा छापा मार्दा जुवा खेलिरहेका थप नौ जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार तीनवटै स्थानबाट ९ लाख ४९ हजार १४५ रुपैयाँ नेपाली र ३२ हजार ८५० रुपैयाँ भारतीय मुद्रा बरामद भएको छ।
यसैगरी, माछापुच्छ्रे बैंकको एक लाख ३० हजार रुपैयाँ उल्लेख गरिएको एउटा चेक, तासका बुक तथा जुवा खेल्न प्रयोग गरिने अन्य सामग्री पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
बरामद रकममध्ये सबैभन्दा बढी भागनारायण चौधरीको घरबाट फेला परेको प्रहरीले जनाएको छ। उक्त घरबाट मात्रै ६ लाख ३० हजार १६० रुपैयाँ नेपाली र ३० हजार २५० रुपैयाँ भारतीय मुद्रा बरामद भएको थियो। सोही स्थानबाट २५ थान मोबाइलसमेत फेला परेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका २६ जनालाई प्रहरी नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
