निर्देशनालयका प्रमुख कृष्णकुमार महतोका अनुसार पुलको दुवैतर्फ माटो भर्ने, सडक निर्माण गर्ने, बाँध बाँध्ने र रेलिङ लगाउने काम भइरहेको छ। भौतिक पूर्वाधार मन्त्रालयको विशेष चासोपछि निर्माण कार्यलाई तीव्रता दिइएको उनले बताए।
गत कात्तिक ११ गते अनलाइनखबरले पुल निर्माणमा भइरहेको ढिलाइ र राजनीतिक चासोसम्बन्धी समाचार प्रकाशित गरेपछि मन्त्रालयले यस विषयमा विशेष ध्यान दिएको थियो। त्यसै दिन राति मन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत पुल मंसिरको पहिलो सातादेखि सञ्चालनमा आउने दाबी गरेका थिए। त्यसपछि निर्माण कार्यले थप गति लिएको हो।
निर्देशनालयका प्रमुख महतोले पुलको बाँकी काम निर्धारित समयभित्रै सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए। उनका अनुसार अहिले एक्सपान्सन ज्वाइन्ट जडानसँगै रेलिङ राख्ने, दुवैतर्फ माटो भरेर सडक बनाउने र नदी नियन्त्रणका लागि बाँध निर्माण गर्ने काम भइरहेको छ।
मधेश प्रदेशको आवागमन र आर्थिक गतिविधिका लागि महत्त्वपूर्ण मानिने हुलाकी राजमार्गको यो पुल लामो समयदेखि सञ्चालनमा नआउँदा दैनिक हजारौँ यात्रु प्रभावित हुँदै आएका छन्। सिरहा र धनुषाबीचको आवागमन सहज बनाउन निर्माण थालिएको पुल समयमै सम्पन्न नहुँदा स्थानीयले वर्षौंदेखि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता भोग्दै आएका छन्।
पुल निर्माणका लागि २०६८ सालमा पप्पु कन्स्ट्रक्सनले २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का पाएको थियो। सम्झौताअनुसार ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि कम्पनीले काम पूरा गर्न सकेन। त्यसपछि २०७८ असार १३ गते ४७० मिटर लामो पुल निर्माण सम्पन्न गर्ने जिम्मेवारी लुम्बिनी बिल्डर्सलाई दिइएको थियो।
निर्माण लगभग पूरा भई सञ्चालनको तयारी भइरहेका बेला २०७८ असार १७ गते अविरल वर्षासँगै आएको बाढीले पुल भासिएको थियो। त्यसपछि पुल पुनः निर्माण तथा मर्मतको काम अघि बढाइएको हो।
चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार मन्त्रालयले पुल निर्माणसँगै कमला नदी नियन्त्रणका लागि २५ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ। पुल सञ्चालनको तयारी भइरहे पनि यसको दीर्घकालीन स्थायित्व र गुणस्तरलाई लिएर भने प्रश्न कायमै छन्।
प्राविधिकहरूको बुझाइमा पुलको डिजाइनमा भएको कमजोरी र निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएका कारण सञ्चालनमा आउनुअघि नै संरचना भासिएको थियो। यसले पुल पुनः सञ्चालनमा आएपछि पनि यसको टिकाउपनबारे चासो बढाएको छ।
यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुलको डिजाइन बलान नदीमाथि निर्माण गरिएको पुलको डिजाइन नक्कल गरेर तयार पारिएको निष्कर्ष निकालेको स्रोतले जनाएको छ। निर्माण सम्पन्न गरी अलपत्र अवस्थाबाट पुललाई सञ्चालनमा ल्याउने प्रक्रियाका कारण यससम्बन्धी मुद्दा तत्कालका लागि थाती राखिएको स्रोतको दाबी छ।
लामो समयदेखि प्रतीक्षामा रहेको कमला पुल मंसिर पहिलो सातादेखि सञ्चालनमा आए सिरहा र धनुषाबीचको आवागमन सहज हुने अपेक्षा गरिएको छ। तर, पुल सञ्चालनसँगै यसको गुणस्तर र दीर्घकालीन सुरक्षाको सुनिश्चितता पनि उत्तिकै महत्त्वपूर्ण देखिएको छ।
