अमिताभको स्वास्थ्य अवस्थालाई लिएर चिन्ता व्यक्त गरिरहेका प्रशंसकहरू उनकाे पुनरागमनको खबरले उत्साहित भएका छन्। सोनी टेलिभिजनले शोको नयाँ प्रोमो सार्वजनिक गर्दै अमिताभ पुनः कार्यक्रम सञ्चालनमा फर्किएको जानकारी दिएको हो।
गत महिना स्वास्थ्यका कारण चिकित्सकले आराम गर्न सुझाव दिएपछि अमिताभले कामबाट केही समयका लागि दूरी बनाएका थिए। यस अवधिमा उनी सामाजिक सञ्जालमा समेत सक्रिय देखिएका थिएनन्।
नयाँ प्रोमोमा अमिताभ दर्शकलाई दीपावलीको शुभकामना दिँदै आफ्नो पारिवारिक उत्सवबारे कुरा गरिरहेका छन्। उनले परिवारसँग दीपावली मनाएको उल्लेख गर्दै ‘कौन बनेगा करोडपति’ को मञ्चलाई पनि आफ्नो अर्को परिवारका रूपमा व्याख्या गरेका छन्।
प्रोमोमा उनले दर्शकलाई सम्बोधन गर्दै आफूहरू परिवारसँग चाडपर्व मनाएर पुनः केबीसीको मञ्चमा उपस्थित भएको बताएका छन्।
कार्यक्रमकै क्रममा हटसिटमा रहेका एक प्रतियोगीले अमिताभको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गर्दै उनको हालखबर सोधेका छन्। त्यसको जवाफमा अमिताभले पहिला प्रतियोगीकै स्वास्थ्यबारे प्रश्न गरेका थिए।
प्रतियोगीले आफू स्वस्थ रहेको बताएपछि अमिताभले मुस्कुराउँदै आफू पनि ठीक रहेको प्रतिक्रिया दिएका छन्। साथै, आफ्नो स्वास्थ्यलाभका लागि शुभेच्छा, प्रार्थना र आशीर्वाद दिने सबैप्रति उनले कृतज्ञता व्यक्त गरेका छन्।
अमिताभले प्रशंसकहरूको माया र शुभकामनाकै कारण आफू पुनः केबीसीको मञ्चमा फर्किन सकेको बताएका छन्।
लामो समयदेखि दर्शकको मन जित्दै आएको ‘कौन बनेगा करोडपति’ मा अमिताभको पुनरागमनले कार्यक्रमका प्रशंसकहरूमा खुसी थपेको छ।
