काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई भ्रमणलाई घुमघाममा मात्र सीमित नराखी नेपालको हितमा केन्द्रित गर्न सुझाव दिएका छन्।
प्रधानमन्त्री शाहले आज सिंहदरबारमा बोलाएर चीन जान लागेका सांसदहरूसँग छलफल गरेका हुन्। रास्वपा संसदीय दलका नेतासमेत रहेका शाहले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउने र चीनबाट नेपालले लिन सक्ने सम्भावित लाभका विषयमा ध्यान दिन निर्देशन दिएका छन्।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिन आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जाँदैछ।
भ्रमणअघि प्रधानमन्त्रीले बोलाएर आवश्यक सुझाव र निर्देशन दिएको रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।
उनका अनुसार भेटमा भ्रमणको उद्देश्य, दुई देशबीचको सम्बन्ध र भ्रमणका क्रममा अपनाउनुपर्ने सावधानीबारे छलफल भएको थियो। प्रधानमन्त्रीले भ्रमण सफल र उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका थिए।
बुर्लाकोटीका अनुसार प्रधानमन्त्री शाहले चीनसँगको सम्बन्धलाई थप प्रगाढ बनाउँदै प्रविधि, व्यापार, अर्थतन्त्र, पर्यटन तथा कृषिको आधुनिकीकरणजस्ता क्षेत्रमा नेपालले लिन सक्ने अवसर पहिचान गर्न आग्रह गरेका थिए।
प्रधानमन्त्रीको निर्देशन उद्धृत गर्दै बुर्लाकोटीले भ्रमण केवल घुमघाममा सीमित नभई दुई देशको साझा हित र विशेषगरी नेपालको हितमा उपलब्धिमूलक हुनुपर्नेमा जोड दिइएको बताए।
उनका अनुसार प्रतिनिधिमण्डलको चीन भ्रमण १० दिनको हुनेछ।
महामन्त्री आचार्यको नेतृत्वमा चीन जाने प्रतिनिधिमण्डलमा गणेश पराजुली, हरि ढकाल, कवीन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा र रमेश कुमार सापकोटा सहभागी हुनेछन्।
त्यस्तै, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनम कुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पा कुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा पनि भ्रमण टोलीमा रहनेछन्।
