प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाली सेनाको जस्तै देखिने पोशाक लगाएर उद्धारमा खटिएको ‘ग्रीन आर्मी नेपाल’बारे प्रश्न उठाएका छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि यो समूह सक्रिय भएपछि यसको वैधानिकताबारे विभिन्न टिकाटिप्पणी भइरहेका छन् । सांसद केसीले सैनिक पोशाक र दर्जाको चिन्हसहित उपस्थित हुने उक्त समूहको प्रकृतिबारे स्पष्ट पार्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाली जनताले एउटै नेपाली सेना चिनेको भन्दै उनले ‘ग्रीन आर्मी नेपाल’ के हो भन्दै प्रश्न गरेका छन् । सांसद केसीले विपद्को समयमा देखिएका राजनीतिक विमतिलाई एकीकृत गर्न तथा नीतिगत व्यवस्थापन र अनुगमनका लागि प्रतिनिधि सभाबाट तत्काल उच्चस्तरीय समिति गठन गर्न माग गरेका छन् । उनले विपद् व्यवस्थापनमा सरकारले राजनीतिक दलहरूसँग प्रभावकारी समन्वय गर्न नसकेको टिप्पणी गरेका छन् ।
उनले भने, ‘विपद्को समयमा पार्टीहरूका बीचमा देखिएका विमतिहरूलाई एकीकृत गर्न, नीतिगत व्यवस्थापन र अनुगमनका लागि सदनबाट तत्काल एक उच्चस्तरीय समिति गठन हुनुपर्ने आवश्यकता छ । त्यसतर्फ म सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु । सरकार एक्लै गरिरहेको छ । हामी सरकारको पक्षमा छौँ । दलहरूले आफूले सक्दो काम गरिरहेकै छन् । तर सरकारले यसलाई कोअर्डिनेटेड रूपमा अहिलेसम्म गरेको महसुस भएको छैन । यो ग्रीन आर्मी भनेको के जात हो ? कहाँबाट आयो ? यसमाथि मेरो गम्भीर प्रश्न छ । यो सैनिक पोशाक र दर्जाको चिन्हसहित जो उपस्थित भएको छ, के यो प्राइभेट मिलिटरी कम्पनी हो ? अमेरिकाको ब्ल्याकवाटर, रुसको वाग्नर हो कि अथवा के हो ? नेपालमा नेपाली जनताले एउटै नेपाली सेना चिनेका छन् । अरू सेना चिनेका छैनन् ।’
उनले विपक्षी दलहरू सरकारको साथमा रहेको भन्दै विपद्पछिको खोज, राहत र उद्धार कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
