काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले वर्तमान सरकारले राष्ट्रिय मुद्दामा नागरिक समाज, पत्रकार, बौद्धिक समुदाय र राजनीतिक दलहरूसँग संवाद तथा सहकार्य गर्न नचाहेको आरोप लगाएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले राष्ट्रिय सरोकारका विषयमा सबै पक्षलाई साथ लिएर अघि बढ्ने सोच सरकारमा नदेखिएको बताए।
सरकार जनताले उठाएका प्रश्नको जवाफ दिनसमेत तयार नभएको उनको आरोप थियो। सरकारको प्रमुख जिम्मेवारी जनतालाई सेवा र परिणाम दिनु भए पनि त्यसमा वर्तमान सरकार कमजोर देखिएको पौडेलले बताए।
विगतका सरकारले विपक्षी दलहरूसँग समेत समन्वय र सहकार्य गरेर अघि बढ्ने गरेको उल्लेख गर्दै उनले वर्तमान सरकारमा त्यस्तो राजनीतिक परिपक्वता नदेखिएको टिप्पणी गरे।
पौडेलले आलोचनाको जवाफ गालीगलौज र विरोधबाट दिने प्रवृत्ति बढ्दै गएको भन्दै यसले समाजमा असहिष्णुता बढाउने धारणा पनि राखे।
