गत भदौ १० गतेको प्रलयकारी बाढीले रसुवा, नुवाकोट र धादिङ क्षेत्रका तटीय बस्तीलाई बगरमा परिणत गरेपछि नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थलगत निरीक्षण गर्नुभएको छ । जहाँ केही दिनअघिसम्म बालबालिकाको कलकलाउँदो हाँसो गुञ्जिन्थ्यो, बजारका सटरहरूमा जीवनको चहलपहल थियो र हरियाली खेतबारीमा सुनौला सपनाहरू लहलहाइरहेका थिए । आज त्यहाँ केवल फुस्रो लेदो, विशाल चट्टान र भत्किएका पिल्लरहरूको मसानघाट बाँकी छ । गत भदौ १० गतेको कालो रातमा उर्लिएर आएको भोटेकोशीको नदीको विनाशकारी बाढीले सयौँ परिवारको बास मात्र खोसेन, पुस्तौँदेखि पसिनाले सिञ्चित सम्पूर्ण जिन्दगी नै बगरमा बगाइदियो । यही कहालीलाग्दो विनाशको भग्नावशेष नियाल्न र पीडितहरूको आँशु पुछ्न नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली धर्मपत्नी राधिका शाक्यसहित स्थलगत निरीक्षणमा पुग्दा सिङ्गो बस्ती स्तब्ध र भावुक बन्यो ।
नदी जब राक्षस बनेर गाउँ पस्यो
गत भदौ १० गते अरू दिनजस्तो सामान्य थिएन । माथिल्लो भेगबाट उर्लिएको भोटेकोशीले आफ्नो प्राकृतिक मार्ग छोडेर सिधै मानव बस्तीमाथि धावा बोल्यो । ‘पानीको आवाज होइन, सिङ्गै पहाड खसेर घरैमाथि खनिएझैँ लाग्थ्यो,’ स्थानीय प्रत्यक्षदर्शीहरू सम्झन्छन् । मिनेटभरमै ३–४ तलासम्मका पक्की घरहरूलाई बाढीको लेदो र भीमकाय ढुङ्गाहरूले निले । धेरैले ज्यान जोगाउन रातको घोर अन्धकारमा अग्ला डाँडाहरूतिर दौडिनुपर्यो । घरभित्र रहेका जीवनभरका कमाइ, अन्नपात, लत्ताकपडा, बहुमूल्य कागजात र गोठका चौपायाहरू सबै क्षणभरमै बालुवाको मुनि पुरिए ।
बिहानी घामसँगै देखिएको दृश्य मुटु काम्ने खालको थियो । खोला किनारका सुन्दर बस्तीहरू एकाएक खरानी र ढुङ्गाको बगरमा रूपान्तरित भइसकेका थिए । सडक सञ्जाल पूरै छिन्नभिन्न भएको थियो, बिजुलीका पोलहरू भाँचिएका थिए र पिउने पानीका मुहानहरू लेदोले भरिएका थिए । तस्बिरहरूमा प्रस्ट देख्न सकिन्छ– बस्ती भएर बग्ने नदीको किनारा अब सीमाहीन भइसकेको छ । सडकको ट्रयाक पूरै खोलामा विलीन भएको छ । हिलो र दलदलमा फसेका सवारी साधनहरू, बाढीले बगाएर ल्याएका रुखका ठुटा र माटोमा आधा पुरिएका घरायसी सामानहरूले यहाँ घटेको प्रलयको साक्षी दिइरहेका छन् । आफूले रगत–पसिना बगाएर इँटा–इँटा जोडेर बनाएको घरको भग्नावशेष अगाडि उभिएर वृद्धवृद्धाहरू टोलाइरहेका छन् । उनीहरूका आँखामा न आँशु बाँकी छ, न त ओठमा कुनै शब्द । केवल एउटै प्रश्न अनुत्तरित छ– अब कहाँ जाने ? कसरी सुरु गर्ने फेरि शून्यबाट जिन्दगी ?
भग्नावशेषको डिलमा ओलीः जब पीडित आमाहरूले हात जोडेः पूर्वप्रधानमन्त्रीको स्थलगत अवलोकन र आँशुले भिजेका संवाद
यही चरम मानवीय संकट र विस्थापनको घडीमा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विनाशको वस्तुस्थिति बुझ्न स्वयं नुवाकोटको बिदुरस्थित तटीय बाढीग्रस्त क्षेत्रमा पुग्नुभयो । पिताको बरखी बारेका ओली सेतो टोपी, सेतो कुर्ता–सुरुवाल र ज्याकेटमा आफ्नो धर्मपत्नी राधिका शाक्यको हात समात्दै बाढीले चिरा पारेको हिलो र ढुङ्गे बगरमा पैदल हिँडेर पुग्नुभयो ।
ओलीलाई देख्नासाथ स्थानीय बाढीपीडित महिला तथा पुरुषहरू भावविह्वल हुँदै घेर्न आइपुगे । पहेँलो र रातो चोलीमा रहेका स्थानीय आमाहरूले दुवै हात जोडेर, आँखाभरि आँसु खसाल्दै आफ्नो बिलौना पोखे । जहाँ प्रकृतिले क्रूरता देखाएको छ, त्यहाँ मानवताका न्यानो हातहरू पनि खटिएका छन् । तस्बिरहरूमा देखिन्छ–एमाले निकट युवा स्वयंसेवकहरू सुन्तला रङ्गको ज्याकेट लगाएर कोदालो, बेल्चा र बुटसहित हिलोको दलदलमा पसेका छन् । उनीहरूले बाढीले पुरेका घरहरूबाट बचेखुचेका सामान निकाल्ने, अवरुद्ध बाटो खोल्ने र राहतका गह्रुँगा बोराहरू काँधमा बोकेर गाडीबाट ओराल्ने काममा दिनरात नभनी पसिना बगाइरहेका छन् ।
निरीक्षणपछि सञ्चारकर्मी र स्थानीय अगुवाहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले यो विपत्तिलाई सामान्य बाढीको रूपमा मात्र लिन नहुने बताएका छन् । ‘यो जलवायु संकट र नदी अतिक्रमण दुवैको संयुक्त भयावह रूप हो । अब यी बस्तीहरूलाई फेरि यही जोखिमपूर्ण बगरमा फर्काउन सकिँदैन। भूगर्भविद्हरूको अध्ययनका आधारमा सुरक्षित स्थानमा एकीकृत बस्ती निर्माण गरिनुपर्छ ।’ ओलीले जोड दिनुभयो ।
पीडितहरूले सरकार र राजनीतिक दलहरूसँग स्पष्ट माग राखेका छन्, वर्षा अझै रोकिएको छैन, चाँडै चिसो मौसम सुरु हुँदैछ । त्रिपालमुनिको बसाइले बालबालिका र वृद्धवृद्धा बिरामी पर्न थालेका छन् । त्यसैले तत्कालका लागि सुरक्षित अस्थायी आवास, स्थायी पुनर्वासका लागि युद्धस्तरमा राहत तथा पुनर्निर्माण प्याकेज घोषणा गरिनुपर्छ ।
पूर्वप्रधानमन्त्री ओलीले पार्टी र आफ्नो तर्फबाट संसद तथा सरकारमा पीडितको आवाजलाई सबैभन्दा पहिलो प्राथमिकताका साथ उठाउने र आवश्यक सम्पूर्ण राहत सामग्रीको निरन्तर आपूर्ति सुनिश्चित गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो ।























