जनकपुर । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले प्राकृतिक विपत्तिको सामना गर्न सबै राजनीतिक दल तथा पक्षलाई मतभेद त्यागेर एकजुट हुन आह्वान गर्नुभएको छ।
जनकपुरमा आयोजित लायन्स क्लबको कार्यक्रममा बोल्दै नेता निधीले विपद्को समयमा उद्धार, राहत र पुनर्निर्माणलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।
उहाँले हालैको बाढीपहिरोबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै नेपाल प्रहरीको तथ्याङ्कअनुसार १ हजार ३ सयभन्दा बढीको मृत्यु भएको र ४ हजार ९ सयभन्दा बढी मानिस अझै सम्पर्कविहीन रहेको जानकारी दिनुभयो। मधेस प्रदेशमा मात्रै १६२ जना सम्पर्कविहीन रहेको उहाँको भनाइ छ।
निधीले रसुवाको नेत्रावती, ढुङ्गे बजारदेखि नुवाकोटसम्म बाढीपहिरोले ठूलो क्षति पुर्याएको बताउँदै यस्तो विपत्ति नेपालले यसअघि नदेखेको उल्लेख गर्नुभयो।
उहाँले जात, धर्म, लिङ्ग र राजनीतिक विचारभन्दा माथि उठेर मानवीय सेवामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो। विपद् व्यवस्थापनका तीन चरण—उद्धार, राहत र पुनर्निर्माणमध्ये अहिले पहिलो प्राथमिकता उद्धार र मानव जीवन बचाउनु रहेको उहाँले बताउनुभयो।
निधीले सीमित स्रोतसाधनका बाबजुद नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरिरहेको उद्धार कार्यको प्रशंसा गर्दै भारत, चीनलगायत अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो।
जलविद्युत आयोजनामा भएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै उहाँले आयोजनामा कार्यरत कर्मचारीको मृत्यु तथा भौतिक संरचनामा भएको क्षति राष्ट्रका लागि अपूरणीय क्षति भएको बताउनुभयो।
