काठमाडौं । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक प्रसारण अधिकार हिमालय स्पोर्ट्स (हिमालय टिभी) ले प्राप्त गरेको छ।
सोमबार नेपाल क्रिकेट संघ (क्यान) को कार्यालयमा भएको बोलपत्र प्रक्रियामा हिमालय स्पोर्ट्सले करसहित १७ करोड २४ लाख रुपैयाँको बोली लगाउँदै प्रसारण अधिकार सुरक्षित गरेको हो।
हिमालय स्पोर्ट्सका अनुसार उक्त रकम गत वर्षको प्रसारण अधिकार मूल्यभन्दा पाँच गुणाभन्दा बढी हो भने यस वर्षका लागि तोकिएको न्यूनतम बोलकबोल रकमभन्दा झण्डै साढे दुई गुणा बढी हो।
कम्पनीले एनपीएलको प्रसारण अधिकार प्राप्त गर्नु गर्वको विषय भएको जनाएको छ। एनपीएललाई क्षेत्रकै अग्रणी खेलकुद प्रतियोगिताका रूपमा स्थापित गर्न नेपाल क्रिकेट संघले महत्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत हिमालय स्पोर्ट्सले व्यक्त गरेको छ।
