कपिलवस्तु । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २४८ जना अझै सम्पर्कविहीन रहेको पाइएको छ।
आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयअन्तर्गतको आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार सबैभन्दा धेरै बर्दियाका ७६ जना सम्पर्कविहीन छन्। त्यस्तै, दाङका ५४, रोल्पाका २४, बाँकेका २३, रुपन्देहीका १९, पाल्पाका नौ, प्युठानका नौ, पश्चिम नवलपरासीका नौ, अर्घाखाँचीका आठ, गुल्मीका सात, कपिलवस्तुका छ र रुकुमपूर्वका चार जना सम्पर्कविहीन रहेका छन्।
बाढीपछि पश्चिम नवलपरासीमा मात्रै १५८ वटा शव फेला परेका छन्। तीमध्ये ५२ महिला, ९० पुरुष, छ बालक र छ बालिका रहेका छन्। चार शवको भने लिङ्ग पहिचान हुन सकेको छैन।
त्यसैगरी, सो क्षेत्रमा ६४ वटा शरीरका अङ्ग समेत फेला परेका छन्। शव र शरीरका अङ्ग गरी फेला परेको कुल सङ्ख्या २२२ पुगेको केन्द्रले जनाएको छ।
फेला परेका शवमध्ये हालसम्म नौ जनाको सनाखत भएको छ। सनाखत हुनेमा एक महिला र आठ पुरुष रहेका छन्।
केन्द्रका अनुसार फेला परेका शवमध्ये १४२ शव र ६४ शरीरका अङ्ग गरी २०६ वटा व्यवस्थापन भइसकेका छन्। बाँकी शव तथा शरीरका अङ्गको पहिचान र व्यवस्थापनको काम जारी छ।
बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी तथा फेला परेका शव र शरीरका अङ्गको पहिचान गर्ने कार्य पनि निरन्तर भइरहेको केन्द्रले जनाएको छ।
