काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले जेन–जी युवा पुस्ताले परिकल्पना गरेको समाज निर्माण गर्न सफल भयौँ कि भएनौँ भन्ने विषयमा गम्भीर समीक्षा गर्न आवश्यक रहेको बताएका छन्।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले गत वर्षको जेन–जी पुस्ताको आन्दोलन सरकार परिवर्तनका लागि नभई राज्य सञ्चालनको संस्कार परिवर्तनका लागि भएको बताए।
जेन–जी आन्दोलनको मर्मअनुसार मुलुकमा विद्यमान दण्डहीनता र विधिविहीनताको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए।
सांसद केसीले अहिले बजारमा मल र ग्यासको हाहाकार भएको भन्दै सरकारको ध्यानाकर्षण गराए। मुलुकमा आइपरेको प्राकृतिक विपद्को सबै पक्ष एकजुट भएर सामना गर्नुपर्ने उनले बताए।
उनले भने, ‘जेन–जी आन्दोलन कुनै दल विशेषको थिएन। यो आन्दोलन सरकार परिवर्तनका लागि नभई संस्कार परिवर्तनका लागि थियो। सरकारको शैली परिवर्तनका लागि थियो। मुलुकमा विद्यमान दण्डहीनता र विधिविहीनताको अन्त्यका लागि थियो।’
‘जुन राज्य र समाज जेन–जी पुस्ताले परिकल्पना गरेको थियो, वास्तवमा हामीले त्यो पूरा गर्न सकेका छौँ कि छैनौँ ? त्यतातिर गम्भीर हुनुपर्ने आवश्यकता छ। अहिले चारैतिर हाहाकारको स्थिति छ। मलको हाहाकार, ग्यासको हाहाकार। तर अहिले यो समयमा हामी सबै एकै ठाउँमा उभिएर हामीसामु देखिएका समस्या समाधान गर्नुपर्ने आवश्यकता छ,’ उनले भने।
बाढीमा फसेका नागरिकको उद्धारमा केही कमजोरी भए पनि राम्रो काम भएको भन्दै उनले टनेलमा फसेका नागरिकको उद्धारमा भने थप सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए।
रसुवाको भोटेकोशीमा आएको बाढीका कारण टनेलमा फसेका नागरिकको उद्धारमा सरकारले थप प्रभावकारी काम गर्न आवश्यक रहेको पनि उनले बताए।
— न्युज एजेन्सी नेपाल
