काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिलकुमार शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको शल्यक्रिया निःशुल्क गर्ने घोषणा गरेका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले काठमाडौं मेडिकल कलेज (केएमसी)को दुवाकोट र विराटनगरस्थित नोबेल मेडिकल कलेजमार्फत एक हजार बिरामीको गम्भीर रोगको शल्यक्रिया निःशुल्क गर्ने घोषणा गरेका हुन् । उनले मेडिकल कलेजमा अध्ययन गर्न आउने आर्थिक रूपमा विपन्न विद्यार्थीका लागि छात्रवृत्तिको प्याकेज ल्याउने तयारी भइरहेको समेत बताए । उनले स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको नाममा रहेको फाउन्डेसनका गतिविधिलाई देशका ७७ वटै जिल्लामा विस्तार गर्नुपर्ने बताए । उनले पार्टी र मुलुकको आर्थिक समृद्धिको आधार तयार गर्न नेता कोइरालाले खेलेको भूमिकाबारे आउँदो पुस्तामाझ पुर्याउन आवश्यक रहेको पनि बताए ।
उनले भने, ‘म सभापतिज्यूलाई साक्षी राखेर यो वर्ष मात्रै बिरामी नै पुगेन भन्दा थाहा छैन । यो मुलुकभित्रका पैसा नभएर आर्थिक रूपमा उपचार गर्न नसक्ने एक हजार वटा मेजर अप्रेसनहरू हामी काठमाडौं मेडिकल कलेजको दुवाकोट र विराटनगरमा नोबेल मेडिकल कलेजमा गरेर निःशुल्क गर्ने घोषणा गर्न चाहन्छौँ । अब हामीले मेडिकल कलेजमा केही छात्रवृत्तिहरूको घोषणा गर्ने सोचिरहेका छौँ । यो विषयमा दिदीसँग सल्लाह गरेर तपाईंहरूलाई भन्नेछु । अहिलेको सभापतिज्यू पनि गिरिजा बाबुकै प्रोडक्ट हो । त्यो साधारण सदस्यता हुन्छ नि, त्यो गिरिजाप्रसाद कोइरालाको हातबाट साइन गरेर दिल्ली बाहिर मलाई लगेर गराउनुभएको थियो । त्यतिबेला दिलीप सापकोटा मोरङको उपसभापति हुनुहुन्थ्यो । साधारण सदस्यता पनि मैले चाहिँ गिरिजा बाबुको हातबाट साइन गरेर लिएको हो । त्यसकारणले गर्दा अब यो फाउन्डेसनलाई अगाडि लाने, विश्व बजारको त म भन्न सक्दिनँ, देशभित्रका ७७ वटा जिल्लामा पुर्याउने र सभापतिजीसँग कोअर्डिनेशन गरेर कांग्रेसको पक्षमा, नेपाली जनताको पक्षमा र गिरिजा बाबु, स्वर्गमा भएको गिरिजा बाबुको हृदय, आत्माले भनौँ न । अब हामी हिन्दुहरूले आत्मा भन्छौँ । बुद्धिज्ममा चाहिँ चित्र् भन्ने चलन छ, आत्मा हुँदैन भनेको छ । अनात्माको बारेमा पढ्नुपर्छ । अब बुद्धिज्मअनुसार गिरिजा बाबुको चित्र् एकदम प्रफुल्ल हुने गरी हामी काम गर्छौँ भन्ने प्रतिबद्धता गर्न चाहन्छौँ ।’
उनले पार्टीमा देखिएको विवाद समाधान गरी नागरिकका मुद्दामा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
