शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा रहेका होल्डिङ सेन्टरको स्थलगत अनुगमन गर्ने भएको छ।
बुधवार बसेको समितिको बैठकले नुवाकोट, धादिङ र काठमाडौंमा रहेका होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय गरेको हो। समिति सभापति ओजश्वी शेरचनले पहिलो चरणमा असोज ३ र ४ गते अनुगमन गर्ने जानकारी दिइन्।
संसदीय परम्परा, अनुगमनको संवेदनशीलता तथा मितव्ययितालाई ध्यानमा राख्दै तीन जिल्लाका लागि छुट्टाछुट्टै संसदीय टोली गठन गरिएको छ।
नुवाकोटका होल्डिङ सेन्टर अनुगमनका लागि सभापति शेरचनसहित अच्युतम लामिछाने, भीमकुमारी बुढामगर, राजन गौतम, राधिका रम्तेल र रिङ्गला यादव सदस्य रहनेछन्।
त्यस्तै, धादिङका होल्डिङ सेन्टर अनुगमनका लागि सीता थपलिया, कुसुम महर्जन र झविलाल डुम्रे सदस्य रहनेछन्। काठमाडौंमा रहेका होल्डिङ सेन्टरको अनुगमनका लागि भने समिति परामर्श तथा समन्वय उपसमितिको परामर्शमा सभापतिले उपयुक्त मिति र सहभागी सदस्यको संख्या निर्धारण गर्ने निर्णय भएको छ।
सभापति शेरचनले अनुगमनका क्रममा पहिलो चरणमा नुवाकोट, धादिङ र काठमाडौंका होल्डिङ सेन्टरमा केन्द्रित हुने बताइन्। अनुगमनको संवेदनशीलता र मितव्ययितालाई ध्यानमा राख्दै आवश्यक संख्यामा मात्रै सदस्य सहभागी गराउने नीति लिइएको उनले बताइन्।
समितिले अनुगमनको दोस्रो चरणसमेत सञ्चालन गर्ने जनाएको छ। दोस्रो चरणको अनुगमन सदन नचलेको समयमा असोज ८ देखि १२ गतेसम्म गर्ने प्रस्ताव गरिएको छ।
समितिले आगामी दिनमा अन्य जिल्लामा समेत विभिन्न विषयमा स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ। हालको अनुगमनमा सहभागी नभएका सदस्यलाई आगामी अनुगमनमा प्राथमिकता दिने र सम्भव भएसम्म एउटै सदस्यलाई दोहोर्याएर एउटै अनुगमन टोलीमा नराख्ने नीति समितिले लिएको सभापति शेरचनले बताइन्।
