नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद बलावती शर्माले सरकारले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन नसक्दा सर्वसाधारण नागरिकले उपचारका क्रममा हैरानी खेप्नुपरेको बताएकी छन्।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै शर्माले आधारभूत स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने बताइन्।
उनले बबिता पासवाङले ७ सय रुपैयाँको अभावमा अस्पतालको गेटबाहिर बच्चा जन्माउनुपरेको घटनालाई स्वास्थ्य सेवा प्रणालीको गम्भीर कमजोरीका रूपमा उल्लेख गरिन्।
संविधानको धारा ३८ ले प्रजनन स्वास्थ्यको हक सुनिश्चित गरेको तथा सुरक्षित मातृत्व ऐन, २०७५ ले आकस्मिक प्रसूति सेवा अनिवार्य गरेको उल्लेख गर्दै शर्माले कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराइन्।
शर्माले भनिन्, ‘स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नहुँदा सर्वसाधारण नागरिकले अस्पतालमा उपचार नपाएर लामबन्दी र हैरानी खेप्नुपरेको छ। ७ सय रुपैयाँ नहुँदा अस्पतालको गेटबाहिर बच्चा जन्माउनुपर्ने अवस्था निकै दुःखद् छ।’
उनले स्वास्थ्यसम्बन्धी संवैधानिक तथा कानुनी अधिकार व्यवहारमै सुनिश्चित गर्नुपर्ने बताइन्। गरिब नागरिकले उपचार र प्रसूति सेवाका लागि अस्पतालबाहिर जानुपर्ने अवस्था आउनु गम्भीर विषय भएको शर्माको भनाइ थियो।
शर्माले भारतमा सम्पन्न ब्रिक्स सम्मेलनमा नेपाललाई निम्तो नदिइएको विषयमा समेत सरकारसँग जवाफ माग गरिन्। छिमेकी मुलुकमा भएको सम्मेलनमा नेपाल सहभागी हुन नपाउनुको कारणबारे सदनलाई जानकारी गराउनुपर्ने उनले बताइन्।
उनले ‘ग्रेजोन’ पत्रिकामा प्रकाशित नेपालसम्बन्धी सामग्रीको वास्तविकताबारे समेत सरकारसँग जवाफ माग गर्दै त्यस विषयमा सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराइन्।
