नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद महेन्द्रबहादुर शाहीले सरकारले कर्मचारीतन्त्रमाथि व्यापक प्रहार गरिरहेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बिहीवारको बैठकमा बोल्दै उनले सरकारले कर्मचारीमाथि अनावश्यक दबाब सिर्जना गर्ने र आतंकित पार्ने काम गरिरहेको आरोप लगाए। सरकारले कर्मचारीमाथि अस्वाभाविक नियन्त्रण राख्न खोजेको भन्दै उनले आपत्तिसमेत जनाए।
शाहीले सर्वोच्च अदालतमा बुधवार भएको आगलागीबारे पनि आशंका व्यक्त गरे। उनले सर्वोच्च अदालतमा बारम्बार आगलागी किन र कसरी भइरहेको छ भन्दै प्रश्न गरे।
आगजनीबाट बचेका मुद्दाका मिसिल रहस्यमय ढंगले जिल्ला अदालत काठमाडौंमैबाट चोरी भएको उल्लेख गर्दै उनले यस विषयमा गम्भीर छानबिन गर्न सरकारको ध्यानाकर्षण गराए।
उनले भने, ‘वर्तमान अवस्थामा सरकारले कर्मचारीतन्त्रमाथि व्यापक प्रहार गरिरहेको छ। सरकारले कर्मचारीमाथि अनावश्यक दबाब सिर्जना गर्ने र आतंकित पार्ने काम गरिरहेको छ। सरकार कर्मचारीमाथि अस्वाभाविक नियन्त्रण गर्न लागिपरेको देखिन्छ। सभामुख महोदय, सर्वोच्च अदालतमा भदौ १७ र ३१ गते पुनः आगलागी भयो। सर्वोच्च अदालतमा बारम्बार आगलागी किन र कसरी भइरहेको छ? यति मात्र होइन, आगजनीबाट बचेका मुद्दाका मिसिल रहस्यमय ढंगले जिल्ला अदालत काठमाडौंबाटै चोरी भएका छन्। यस विषयमा आवश्यक छानबिन गरियोस्।’
शाहीले सरकारले मुलुकको परराष्ट्र कूटनीतिलाई प्रभावकारी बनाउन नसकेको आरोपसमेत लगाए।
