राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रकाशचन्द्र परियारले नेपालले कोपलगायत अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा निरन्तर प्रतिनिधित्व गरे पनि अपेक्षित परिणाम हासिल गर्न नसकेको टिप्पणी गरेका छन् ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले यस्तो बताएका हुन् । उनले जलवायु परिवर्तनबाट नेपालले व्यहोरेको क्षतिलाई अन्तर्राष्ट्रिय मञ्चमा अधिकारका रूपमा उठाउनुपर्ने बताए ।
नेपालले जलवायुजन्य क्षतिको क्षतिपूर्तिका लागि थप प्रभावकारी पहल गर्नुपर्ने उनको भनाइ छ । सरकारको पहललाई सुदृढ बनाउन संसदीय समितिले पनि सहयोग गर्नुपर्ने उनले बताए । कानुन समितिअन्तर्गत कार्यदल वा उपसमिति गठन गरी अध्ययन गर्न उनले प्रस्ताव गरे ।
परियारले भने, ‘कोपलगायतको महाकुम्भमा यति ठूलो भिड नेपालबाट गइरहेको छ, यसले परिणाम ल्याउन सकेको छैन । महाकुम्भमा प्रतिनिधित्व मात्रै हुने तर परिणाम नल्याउने नेपालको शैलीलाई यसपटक बदल्नुपर्छ । हाम्रो समिति पनि न्यायसँग जोडिएको समिति भएका कारणले कम्तीमा हाम्रो कार्यदल अथवा उपसमिति बनाएर यसको अध्ययन गर्नुपर्छ । त्यसमा हामी पनि काम गर्न तयार हुन्थ्यौँ, त्यसले परिणाम ल्याउँछ ।’
उनले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय र क्षतिपूर्तिको विषय स्पष्ट रूपमा उठाउनुपर्नेमा जोड दिए ।
