उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना पकाउने एलपी ग्यासको अभावको समस्याबारे सरकारले आपूर्ति प्रणालीसँग जोडिएका बहुआयामिक कारणको विश्लेषण गरिरहेको बताएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै मन्त्री साहले बजारमा ग्यास अभावका कारण आम नागरिकले भोगिरहेको कठिनाइप्रति सरकार गम्भीर रहेको बताए।
उनले ग्यास अभावसहित आपूर्ति क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले निरन्तर काम गरिरहेको दाबी गरे। ग्यास अभावको मूल कारण पहिचान गर्न मन्त्रालयले प्राविधिक विश्लेषणको उपकरण ‘फिसबोन डायाग्राम’ प्रयोगमा ल्याएको उनले जानकारी दिए।
उक्त विश्लेषणले ग्यास अभावमा आपूर्ति, पूर्वाधार, आर्थिक तथा नीतिगत पक्ष, कानुन, वितरण प्रणाली तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय कारणको संयुक्त प्रभाव रहेको देखाएको मन्त्री साहको भनाइ छ।
उनका अनुसार ग्यास आपूर्तिमा आयात निर्भरता, अन्तर्राष्ट्रिय मूल्यवृद्धि, भण्डारण तथा रिफिलिङ क्षमता, डिलर तथा सेवा केन्द्रको असमान वितरण र खाली सिलिन्डर फिर्तामा हुने ढिलाइ प्रमुख समस्याका रूपमा देखिएका छन्। यी कारणले माग र आपूर्तिबीच असन्तुलन सिर्जना भएको उनले बताए।
उनले ग्यासको कालोबजारी, डिजिटल ट्र्याकिङको अभाव तथा अन्तरनिकाय समन्वयको कमीले समेत ग्यास आपूर्ति व्यवस्थापनमा समस्या सिर्जना गरेको बताए।
उनले भने, ‘आम नागरिकले एलपी ग्यास सिलिन्डरको अभावका कारण भोगिरहेको कठिनाइप्रति सरकार निकै गम्भीर छ। सरकार ग्याससहितका समस्या समाधानमा निरन्तर लागिरहेको छ। समस्याका मूल कारण पहिचान गर्न मन्त्रालयले प्राविधिक विश्लेषणको एउटा उपकरण फिसबोन डायाग्राम सञ्चालनमा ल्याएको छ। यस उपकरणले ग्यास अभावको समस्यालाई कुनै एउटा कारण वा एउटा निकायको कमजोरीका रूपमा नभई आपूर्ति, पूर्वाधार, आर्थिक, नीतिगत तथा कानुनी पक्ष, वितरण प्रणाली तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय पक्षसँग जोडिएका संयुक्त कारणका रूपमा देखाएको छ।’
‘विभिन्न कारक तत्त्वमध्ये आयात निर्भरता, अन्तर्राष्ट्रिय मूल्यवृद्धि, भण्डारण तथा रिफिलिङ क्षमता, डिलर तथा सेवा केन्द्रको असमान वितरण, खाली सिलिन्डर फिर्तामा ढिलाइ र त्यसका कारण माग र आपूर्तिमा असन्तुलन भएको देखिएको छ। कालोबजारी, डिजिटल ट्र्याकिङ नहुनु र अन्तरनिकाय समन्वयको अभाव पनि बढी जिम्मेवार देखिन्छन्। टेक्नोइकोनमिक इन्जिनियरका रूपमा मैले यो संकटलाई कति सिलिन्डर आयो भन्ने प्रश्नमा मात्र सीमित राखेको छैन। लोडिङदेखि उपभोक्ताको भान्सासम्म पुग्ने समय, रिफिलिङ क्षमता, वितरणको भौगोलिक असन्तुलन, मूल्य र सुरक्षालाई पनि आपूर्तिका सूचकका रूपमा हेरिएको छ।’
उनले ग्यास आपूर्ति सहज बनाउन सरकारले तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन योजना बनाएर सबै शक्ति परिचालन गरिरहेको पनि बताए।
