नेपाली महिला कराते टिम काता टोली जापानमा जारी २०औँ एशियाली खेलकुदमा कांस्य पदकको प्रतिस्पर्धामा असफल भएको छ।
नेपाली महिला काता टोलीले एसियाली खेलकुदमा पहिलोपटक प्रतिस्पर्धा गरे पनि सफलता पाउन सकेन। तोयोहाशी जिम्नेसियममा मंगलबार सम्पन्न आइची/नागोया २०२६ मा निराशाजनक प्रदर्शनसँगै करातेमा नेपालको पदक आशा समाप्त भएको छ।
कांस्य पदकको प्रतिस्पर्धामा सानुमाया थिङ, एलिशा रास्कोटी मगर र मेघा लिम्बू सम्मिलित नेपाली महिला टिम काताको टोली चाइनिज ताइपेइसँग ५–० ले पराजित हुन पुग्यो। नेपाली टोलीले क्वार्टरफाइनलमा भियतनामसँग पनि ५–० को हार व्यहोरेको थियो।
भियतनाम फाइनलमा पुगेपछि नेपालले रिपाचेजमार्फत कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने अवसर पाएको हो। यससँगै कातामा नेपालको चुनौती समाप्त भएको छ।
कातामा दुई र कुमुतेमा नेपालले पाँच तौलसमूहमा प्रतिस्पर्धा गरेको थियो। यसअघि महिला एकल कातामा सानुमाया थिङले प्रतिस्पर्धा गरेकी थिइन्। उक्त स्पर्धामा सानुमाया दक्षिण कोरियाकी चोइ हाइउनसँग ५–० कै नतिजामा पराजित भएकी थिइन्।
गत संस्करणमा ऐतिहासिक रजत पदक जितेकी एरिका गुरुङ, मीनबहादुर तामाङ र राकेश मानन्धर पनि कांस्य पदकको प्रतिस्पर्धामा चुकेका थिए। नेपाली कराते टोली चौथोपल्ट पदक भिडन्तमा असफल भएको छ।
