काठमाडौँ । इजरायली सुरक्षा बलले पूर्वी जेरुसेलमस्थित संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य निकाय (यूएनआरडब्ल्यूए) को एक परिसरमा छापा मारी नियन्त्रणमा लिएको छ। इजरायलको उक्त कदमको प्यालेस्टाइनी प्रेसिडेन्सी र विभिन्न राजनीतिक समूहहरूले कडा शब्दमा निन्दा गरेका छन्।
प्राप्त जानकारीअनुसार, इजरायली राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन–ग्वीरको उपस्थितिमा सीमा प्रहरीले पूर्वी जेरुसेलमको कफ्र अकाबस्थित ‘कलान्डिया भोकेशनल ट्रेनिङ सेन्टर’ खाली गराई बन्द गरिदिएको छ। उक्त कारबाहीका क्रममा नियोगका करिब ४० जना कर्मचारीलाई हिरासतमा लिइएको प्यालेस्टाइनी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
इजरायली सञ्चारमाध्यमका अनुसार मन्त्री बेन–ग्वीरले आतंकवादी गतिविधिमा संलग्न वा हमासलाई सहयोग पुर्याउने कुनै पनि संस्थालाई जेरुसेलम वा इजरायलको अन्य भूभागमा सञ्चालन हुन नदिने बताए। यता, इजरायली परराष्ट्र मन्त्रालयले उक्त जग्गा राष्ट्रसंघीय नियोगको नभई ‘जेविश नेशनल फण्ड’को स्वामित्वमा रहेको र त्यहाँ नयाँ शैक्षिक परिसर निर्माण गर्ने योजना रहेको दाबी गरेको छ।
यस घटनाको प्रतिवाद गर्दै प्यालेस्टाइनी प्रेसिडेन्सीले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आकस्मिक बैठक आह्वान गर्न माग गरेको छ। आधिकारिक समाचार एजेन्सी ‘वाफा’मार्फत जारी विज्ञप्तिमा प्यालेस्टाइनले अन्तर्राष्ट्रिय कानूनबमोजिम राष्ट्रसंघीय संस्थाहरूको सुरक्षा सुनिश्चित गर्न र इजरायली हस्तक्षेप रोक्न विश्व समुदायलाई अपिल गरेको छ। प्यालेस्टाइनले उक्त कार्यलाई अन्तर्राष्ट्रिय कानून र कूटनीतिक उन्मुक्तिको ‘गम्भीर उल्लंघन’ भनेको छ।
त्यसैगरी, प्यालेस्टाइनी नेशनल लिबरेशन मुभमेन्ट (फताह)ले इजरायलको उक्त कदमलाई राष्ट्रसंघीय निकायविरुद्धको ‘आक्रामकता’को निरन्तरता भन्दै यसले अन्तर्राष्ट्रिय प्रणालीलाई नै चुनौती दिएको उल्लेख गरेको छ। हमासले पनि छापाको निन्दा गर्दै इजरायललाई रोक्न अन्तर्राष्ट्रिय समुदायले ठोस कदम चाल्नुपर्नेमा जोड दिएको छ।
सन् १९५२ मा स्थापित कलान्डिया भोकेशनल ट्रेनिङ सेन्टरले वार्षिक करिब ३४० जना प्यालेस्टाइनी शरणार्थी युवालाई विभिन्न प्राविधिक तथा व्यावसायिक विषयमा तालिम प्रदान गर्दै आएको छ।
