सभामुख डोलप्रसाद अर्यालले सदनको कारबाहीलाई मर्यादित र व्यवस्थित बनाउन सांसदहरूलाई निर्देशन दिएका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले संसद्को कारबाहीलाई मर्यादित बनाउन प्रतिनिधि सभा नियमावली, २०८३ को पूर्ण पालना गर्न सांसदहरूलाई निर्देशन दिएका हुन्।
सांसदहरूले सभा सञ्चालनका क्रममा नियमावलीका प्रावधानहरूको ख्याल राख्नुपर्नेमा जोड दिँदै उनले सभालाई व्यवस्थित र मर्यादित बनाउनु सदनका प्रत्येक सदस्यको साझा कर्तव्य र दायित्व भएको स्पष्ट पारे।
हाल लागू रहेको प्रतिनिधि सभा नियमावली, २०८३ को कार्यान्वयन नै सभाको गरिमा बढाउने मुख्य आधार भएको उनले बताए।
उनले भने, ‘हरेक दिनको बैठकलाई मर्यादित र व्यवस्थित बनाउनु हामी सबैको कर्तव्य र दायित्व हो। सबै माननीय सदस्यहरूको पहलबाट प्रतिनिधि सभा नियमावली, २०८३ लागू गरी सोहीअनुसार सभा सञ्चालन भइरहेको छ। यस सन्दर्भमा म सबै माननीय सदस्यहरूको प्रतिनिधि सभा नियमावलीको नियम २० र २१, विशेषगरी नियम २० को खण्ड (ट) तर्फ गम्भीर ध्यानाकर्षण गराउँछु। बैठकको मर्यादा र गरिमालाई कायम राख्दै नियमावलीको पूर्ण पालना गर्न सबै माननीय सदस्यहरूलाई आग्रह गर्दछु।’
सभामुख अर्यालले विशेषगरी नियमावलीको नियम २० र २१ तर्फ सांसदहरूको ध्यानाकर्षण गराएका छन्।
