नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले १० भदौको रसुवाको भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजनाको पुनर्निर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।
बुधवार दरबारमार्गस्थित प्राधिकरणको कार्यालयमा पदबहाली गर्दै उनले यस्तो बताएका हुन् । उनले हिउँदयाममा विद्युत् आपूर्ति सहज बनाउन वैकल्पिक ऊर्जाको खोजी भइरहेको समेत बताए ।
उनले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट क्षतिग्रस्त परियोजनाहरूलाई राष्ट्रिय प्रणालीमा जोड्ने कार्य सुरु भइसकेको जानकारी दिए । बाढीका कारण क्षतिग्रस्त जलविद्युत आयोजनाको पुनर्निर्माणका लागि तत्कालीन र दीर्घकालीन रणनीति निर्माणमा जुट्ने पनि उनले बताए ।
उनले सुनकोशी–३ जलविद्युत आयोजनाको विस्तृत डिजाइन तथा इन्जिनियरिङ अध्ययनका लागि छुट्टै समिति गठन गर्ने निर्णय गरिएको जानकारी दिए । बाढीका कारण चिलिमे हबमा हाल सञ्चालनमा रहेको १३५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिर गएको उनले बताए ।
नागरिकलाई सहज तथा गुणस्तरीय बिजुली वितरण गर्न आफू प्रतिबद्ध रहेको समेत उनले बताए ।
उनले भने, ‘मेरो पहिलो निर्णय सुनकोशी–३ जलविद्युत आयोजनाको डिटेल डिजाइन र यसको इन्जिनियरिङ स्टडीका लागि एउटा कमिटी गठन गर्ने भएको छ । यो कमिटी छिट्टै गठन गर्छौं । १० भदौको रसुवाको भोटेकोशी बाढीले राज्य र नेपाल विद्युत् प्राधिकरणलाई पनि ठूलो क्षति पुर्याएको छ । यसबाट उठ्नका लागि हामी तत्कालीन र दीर्घकालीन योजना बनाइरहेका छौँ ।
शुरुमा अहिले क्षति भएका ट्रान्समिसनलाई नै पुनःस्थापना गर्ने हो । अहिले चल्न सक्ने प्लान्टहरू चिलिमे हबमा मात्र १३५ मेगावाट रहेको छ । अन्य दुई–चारवटा हाइड्रोपावर प्लान्ट राष्ट्रिय प्रणालीमा जोड्ने नै हाम्रो सबैभन्दा पहिलो टार्गेट हुनेछ । यसको लागि प्राधिकरणले काम पनि गरिसकेको अवस्था छ ।
हाइड्रोपावरमा भएको डेब्रिज सफा गर्ने, डेब्रिज सफा गरिसकेपछि त्यसको ड्यामेज एसेसमेन्ट गरेर पुनर्निर्माणको योजना अगाडि बढाउने भन्ने नै हाम्रो रणनीति रहेको छ । हामीले हिउँदमा विद्युत् आपूर्ति सहज बनाउनका लागि विकल्पसमेत सोचिरहेको अवस्था छ । यसको लागि ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणले टास्क फोर्स नै गठन गरेको छ ।
हामी जाडोयाममा विद्युत् आपूर्तिमा समस्या आउन दिँदैनौँ । जनतालाई सेवा–सुविधा र गुणस्तरीय बिजुली दिने कुरा नै मेरो प्राथमिकतामा रहन्छ ।’
उनले बुधवार बिहान मात्र पद तथा गोपनीयताको शपथ लिएका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधवार बिहान मन्त्रालयमा कार्यकारी निर्देशक श्रेष्ठलाई शपथ ग्रहण गराएका थिए । असोज २ मा बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई कार्यकारी प्रमुखमा नियुक्त गरेको थियो ।
