उनले गतवर्ष आएको बाढीभन्दा यसपटकको बाढी ठूलो र विनाशकारी रहेको बताउँदै रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुगेको बताएका छन्। बुधबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र साहसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै सांसद आचार्यले बाढी प्रभावित क्षेत्रका नागरिकलाई जतिसक्दो छिटो हेलिकप्टरमार्फत उद्धार गर्न सरकारसँग आग्रह गरेका छन्।
सडकमार्ग पूर्ण रूपमा अवरुद्ध भएकाले प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका लागि हवाई माध्यम प्रयोग गर्नुपर्ने अवस्था रहेको उनले बताएका छन्। प्रभावित क्षेत्रमा नागरिकहरू त्रसित रहेको र धेरै परिवार आफ्ना आफन्तसँग सम्पर्कविहीन भएपछि चिन्तित बनेको उनले जानकारी दिएका छन्।
उनले प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनःस्थापनाको काम अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
उनले भने, “अहिले त्यहाँका आम नागरिकहरू एकदमै त्रसित छन्। सोचेको र अनुमान गरेको भन्दा पनि धेरै ठूलो क्षति भएको छ। धेरै परिवारका सदस्यहरू सम्पर्कविहीन हुँदा परिवारजनहरू आत्तिनुभएको छ। लगातार फोनहरू आउने गरेको भए पनि अहिले त्यहाँ टेलिफोन कनेक्सनसमेत छैन। त्यसैले अब त्यो भूगोलमा सडकमार्गबाट जान सकिने अवस्था नभएकाले हवाई माध्यमबाट गएर उद्धार र सहयोग गर्नुपर्छ।”
सांसद आचार्यका अनुसार तिब्बती क्षेत्रमा हिमताल विस्फोट भएपछि बाढी आएको हो। बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेसी, मैलुङबेसी, त्रिशूली बजारलगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको उनले बताएका छन्। टेलिफोन सम्पर्कसमेत विच्छेद भएकाले क्षतिको विवरण संकलनमा कठिनाइ भइरहेको उनले जानकारी दिएका छन्।
