नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनलाई पार्टीका विभिन्न तहमा एउटै बुझाइका साथ अध्ययन तथा छलफल गराउने निर्णय गरेको छ।
बिहीबार बसेको पार्टी सचिवालय बैठकले केन्द्रीय समितिबाट पारित प्रतिवेदनको मुख्य सन्देश र विषयवस्तु कार्यकर्तास्तरसम्म पुर्याउने विषयलाई प्राथमिकतामा राखेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टले अध्यक्ष ओलीको प्रतिवेदनले पार्टीभित्र एकताको सन्देश दिएको बताए। अब त्यसमा समेटिएका विषयलाई तल्लो तहसम्म कसरी प्रभावकारी रूपमा पुर्याउने भन्नेमा पार्टीले काम गर्ने उनको भनाइ थियो।
सचिवालय बैठकले पार्टी एकीकरण वा पछिल्लो समय पार्टीमा प्रवेश गरेका केही नेताहरूलाई केन्द्रीय कमिटीमा समावेश गर्ने विषयमा पनि निर्णय गरेको छ। यद्यपि सम्बन्धित नामहरू भने केन्द्रीय कमिटीबाट औपचारिक निर्णय भएपछि मात्रै सार्वजनिक गरिने भट्टले बताए।
त्यस्तै, एमालेको स्थायी कमिटी गठनसँग सम्बन्धित विषयमा समेत सचिवालयमा सहमति बनेको जानकारी दिइएको छ। स्थायी कमिटीमा रहने नेताहरूको नाम पनि केन्द्रीय कमिटीबाट अनुमोदन भएपछि सार्वजनिक गर्ने तयारी छ।
बैठकले केन्द्रीय कमिटीसँग सम्बन्धित बाँकी केही विषयमा आवश्यक निर्णय लिन सचिवालयलाई अधिकार दिने विषयमा समेत सहमति गरेको बताइएको छ।
