पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा निर्माण गरिएको वैकल्पिक सडक मार्ग पुनः जोखिममा परेको छ।
गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण सडक कटान भई राजमार्ग अवरुद्ध भएपछि सञ्चालनमा ल्याइएको उक्त नयाँ ट्र्याकको तल्लो भागबाट नदीले निरन्तर कटान गरिरहेकाले सडक भासिने त्रास बढेको हो।
गत भदौको बाढीका कारण पृथ्वी राजमार्गको मुख्य खण्डमा क्षति पुगेपछि यातायात सहज बनाउने उद्देश्यले तत्कालका लागि वैकल्पिक ट्र्याक निर्माण गरिएको थियो। निरन्तरको वर्षापछि नदीको बहाव र कटान अझै नरोकिएका कारण नयाँ निर्माण गरिएको सडक पनि सुरक्षित नरहेको विज्ञहरूले औँल्याएका छन्।
निर्माण भइसकेको ट्र्याकको तल्लो तटीय क्षेत्रबाट त्रिशूली नदीले जमिन कटान जारी राखेकाले सडकको जग कमजोर बन्दै गएको छ। हाल पृथ्वी राजमार्गका विभिन्न सात स्थानमा पहिरोका कारण सडकखण्ड अवरुद्ध हुँदै आएको छ।
कृष्णभीरको भौगोलिक अवस्था आफैँमा निकै कमजोर र संवेदनशील मानिन्छ। त्यसमाथि नदीको कटानले निरन्तरता पाएकाले तत्काल दिगो समाधान नखोजिए पुनः सडक सम्पर्क विच्छेद हुने जोखिम उच्च छ।
सडक डिभिजन कार्यालयले प्राविधिक टोलीमार्फत अवस्थाको अनुगमन गरिरहेको भए पनि नदी नियन्त्रणको कार्य चुनौतीपूर्ण बनेको छ। राजमार्गको यो खण्ड मुलुकको राजधानी काठमाडौंलाई जोड्ने मुख्य लाइफलाइन भएकाले यसको संरक्षणमा गम्भीरता अपनाउनुपर्ने आवश्यकता देखिएको छ।
वैकल्पिक मार्ग सुरक्षित नहुँदा हजारौँ यात्रु र ढुवानी सेवा प्रत्यक्ष प्रभावित भइरहेका छन्। हाल भइरहेको कटानले नयाँ ट्र्याक नै बगाउने सम्भावना बढेपछि अबको रणनीति के हुने भन्ने प्रश्न स्थानीय र सरोकारवालाहरूले उठाएका छन्।
