चीनको सिचुआन प्रान्तस्थित यिबिन सहरको गाओसियन काउन्टी क्षेत्रमा शनिबार भूकम्पको धक्का महसुस गरिएको छ ।
स्थानीय समयअनुसार दिनभरि गएका भूकम्पका शृङ्खलामध्ये सबैभन्दा ठूलो ४.५ म्याग्निच्युडको रेकर्ड गरिएको छ । चीनको भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार शनिबार गाओसियन काउन्टीलाई केन्द्रबिन्दु बनाएर तीनवटा भूकम्पका धक्का गएका थिए ।
४.५ म्याग्निच्युडको भूकम्पले स्थानीय बासिन्दामा त्रास फैलाए पनि अहिलेसम्म कुनै मानवीय क्षति वा गम्भीर संरचनात्मक नोक्सानीको खबर प्राप्त भएको छैन । भूकम्प गएलगत्तै स्थानीय प्रशासनले उद्धार तथा क्षतिको आँकलनका लागि विशेष टोली परिचालन गरेको थियो ।
हालसम्म प्राप्त प्रारम्भिक विवरणका आधारमा उक्त क्षेत्रका आवासीय भवन वा सार्वजनिक संरचनामा कुनै क्षति नपुगेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यिबिन क्षेत्र भूगर्भीय रूपमा सक्रिय मानिन्छ । यसअघि पनि यस क्षेत्रमा साना तथा ठूला भूकम्प जाने गरेका छन् । स्थानीय अधिकारीहरूले पछिल्लो पटक गएको भूकम्पपछिको स्थिति सामान्य रहेको र नागरिकहरूलाई सचेत रहन आग्रह गरेका छन् ।
विपद् व्यवस्थापन विभागले थप परकम्पहरू जान सक्ने भन्दै सतर्कता अपनाउन स्थानीय बासिन्दालाई आह्वान गरेको छ ।
