नेपालको कृषि क्षेत्रले भोग्दै आएको मलको अभाव तथा हालैको बाढीपहिरोले पुर्याएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद करिश्मा कठरियाले सरकारको ध्यानाकर्षण गराएकी छन्।
सोमबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारी बेवास्ता र प्राकृतिक विपत्तिको दोहोरो मारमा किसान पिल्सिएको भन्दै तत्काल राहत तथा व्यवस्थापनको माग गरेकी हुन्।
सांसद कठरियाले हरेक वर्ष असार महिनामा किसानले मलको हाहाकार व्यहोर्नुपर्ने नियति दोहोरिइरहेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाइन्। समयमै मल नपाउँदा उत्पादनमा ह्रास आउने निश्चितप्रायः रहेको र अर्कोतर्फ अविरल वर्षाका कारण खेतमै बाली नष्ट भएपछि किसान थप संकटमा परेको उनले बताइन्।
किसानले दुःख गरेर उत्पादन गरेको धान बिक्री गर्नसमेत कठिनाइ भइरहेको उनले सदनमा बताइन्।
खाद्य संस्थानमा हप्तौँसम्म लाइन बस्दा समेत सरकारले तोकेको न्यूनतम समर्थन मूल्य पाउन नसक्दा किसानहरू बाध्य भएर कौडीको भाउमा व्यापारीलाई बाली बेच्न विवश भएको सांसद कठरियाको भनाइ थियो।
सरकारको उदासीनताले किसानको मनोबल गिराएको भन्दै उनले समयमै मल उपलब्ध गराउन नसके पनि कम्तीमा अहिले बाली उठाउने बेलामा सरकारले आफ्नो उपस्थिति देखाउन आवश्यक रहेको बताइन्।
उनले स्थानीय तहसँग प्रत्यक्ष समन्वय गर्दै तत्काल प्रभावकारी रूपमा धान खरिदको प्रक्रिया अघि बढाउन तथा किसानलाई राहत प्रदान गर्न सरकारसँग माग गरिन्।
