काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले विपद्पछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै अध्यक्ष राईले विपद्पछिको राहत, उद्धार तथा पुनर्निर्माणको काम सावधानीपूर्वक गर्न सरकारलाई आग्रह गरेका छन्।
चीनबाट आएको बाढी भारततर्फ जाने अवस्थामा नेपालले भारतलाई समयमै जानकारी गराएको वा नगराएको विषय महत्वपूर्ण रहेको उनले बताएका छन्। विपद्को समयमा छिमेकी मुलुकबीच सूचना आदानप्रदान प्रभावकारी हुनुपर्नेमा उनले जोड दिएका छन्।
सामाजिक सञ्जालमा आएका सबै सूचना सत्य नहुने भन्दै उनले आधिकारिक सूचना र तथ्यका आधारमा विपद् व्यवस्थापनका संयन्त्र परिचालन गर्नुपर्ने बताएका छन्।
उनले भने, “चीनबाट आएको बाढी अब भारततर्फ जाने होला। समुद्रमा मिसिने होला। नेपालले भारतलाई जानकारी दियो कि दिएन भन्ने कुरा हो। यो सूचना आदानप्रदान ठूलो कुरा हो। सामाजिक सञ्जालमा हेरेका सबै कुरा सत्य हुँदैनन्। चीनसँग सूचना आदानप्रदान हुनुपथ्र्यो। यस विपद्को समयमा एकदम सावधानीपूर्वक उद्धारको कार्य गर्न सरकारलाई आग्रह गर्न चाहन्छु।”
अध्यक्ष राईले विपद्को समयमा सत्तापक्ष र प्रतिपक्षभन्दा माथि उठेर एकजुट हुनुपर्ने बताएका छन्। उनले विपद्को सामना गर्न सबै राजनीतिक दल एउटै टिमका रूपमा अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
उनले भने, “यो विपद्को समयमा राष्ट्रिय एकताको खाँचो रहेको छ। यतिबेला सत्तापक्ष र प्रतिपक्ष भन्ने कुरा हुँदैन। हामी सबै एउटै टिम हो, वान टिम, वान नेसन। हाम्रो लक्ष्य पनि एउटै छ।”
