काठमाडौँ । असोज ९ देखि १२ गतेसम्म परेको लगातारको वर्षापछि आएको बाढी, पहिरो तथा अन्य विपद्का घटनामा देशभर २७ जनाको मृत्यु भएको छ। बंगालको खाडीबाट विकसित न्यूनचापीय प्रणालीका कारण भएको वर्षाले विभिन्न जिल्लामा जनधनको क्षति पुर्याएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार उक्त अवधिमा देशभर ५४२ वटा विपद्का घटना अभिलेख भएका छन्। घटनामा परी चार जना अझै बेपत्ता छन् भने आठ जना घाइते भएका छन्। विपद्बाट १ हजार ८२ परिवार प्रत्यक्ष प्रभावित भएको प्राधिकरणले जनाएको छ।
पहिरोबाट सबैभन्दा धेरै मानवीय क्षति
प्राधिकरणको विवरणअनुसार पहिरोका घटना सबैभन्दा बढी मानवीय क्षति निम्त्याउने कारण बनेका छन्। देशभर भएका ३०४ वटा पहिरोमा २० जनाको मृत्यु भएको छ। पहिरोमा परी चार जना बेपत्ता र सात जना घाइते भएका छन्।
यसैगरी, ८७ वटा बाढीका घटनामा चार जनाको ज्यान गएको छ। भारी वर्षासँग सम्बन्धित १५१ घटनामा थप तीन जनाको मृत्यु र एक जना घाइते भएको तथ्यांक छ।
हिमलुङ हिमालतर्फ क्याम्प स्थापनाका लागि गएको २२ सदस्यीय नेपाली टोलीमध्ये चार जनाको शव फेला परेको छ। बाँकीको खोजी तथा उद्धारका लागि हेलिकप्टरबाट अभियान जारी रहेको प्राधिकरणले जनाएको छ।
घरदेखि सडक र पुलसम्म क्षति
विपद्का कारण आवासीय तथा सार्वजनिक संरचनामा समेत ठूलो क्षति पुगेको छ। हालसम्म २२७ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १४२ घरमा आंशिक क्षति पुगेको विवरणमा उल्लेख छ।
बाढीका कारण विभिन्न स्थानका १० वटा पुलमा क्षति पुगेको छ। बागलुङमा कालीगण्डकी नदीको पुल बगाएपछि यातायात आवागमन प्रभावित भएको छ। सो घटनाका कारण विद्युत् तथा टेलिफोन सेवामा समेत असर परेको जनाइएको छ।
म्याग्दीमा करिब ४०० मिटर सडक कटानमा परेको छ। बाढीपहिरोका कारण विभिन्न राजमार्ग तथा स्थानीय सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको छ।
पशुचौपायामा पनि क्षति
विपद्को असर कृषि तथा पशुपालन क्षेत्रमा समेत परेको छ। देशभर ३१ वटा गोठमा क्षति पुगेको छ भने ११४ वटा पशुचौपाया मरेका छन्।
दुई हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारियो
जोखिममा रहेका बस्तीका करिब २ हजार नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उद्धार तथा राहत कार्यमा स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जनशक्ति परिचालन गरिएको थियो।
प्राधिकरणका अनुसार सशस्त्र प्रहरी बलका ४ हजार ३९५ तथा नेपाली सेनाका २६५ जनासहित सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका थिए।
म्याग्दी, जाजरकोट, हुम्ला, मुगु र दैलेखलगायत दुर्गम जिल्लामा बाढीपहिरोका कारण फसेका तथा गम्भीर अवस्थामा रहेका व्यक्तिलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
विपद्पूर्व सूचना प्रवाहमा जोड
विपद्को सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले पूर्वसूचना प्रवाहलाई समेत प्राथमिकता दिएको जनाएको छ।
जोखिमयुक्त क्षेत्रका नागरिकलाई लक्षित गरी करिब ९ लाख ८० हजार एसएमएस पठाइएको थियो। त्यस्तै, नेपालमा रहेका वा भ्रमणमा आएका पर्यटकलाई लक्षित गरेर करिब ९ हजार अंग्रेजी भाषाका सूचना समेत प्रवाह गरिएको प्राधिकरणले जनाएको छ।
लगातारको वर्षापछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा क्षतिको विवरण संकलन गर्ने काम जारी रहेको जनाइएको छ।
