श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले मनाङको हिम लुङ हिमालमा गएको हिमपहिरोमा बेपत्ता भएकाहरूको खोजी, त्रिपुरेश्वरमा भएको आत्मदाह घटनाका पीडित परिवारसँगको संवादहीनता र पोल्याण्डमा कार्यरत नेपाली श्रमिकले बैंक खाता खोल्न नपाएको समस्याबारे सदनमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बुधवारको बैठकमा उनले सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद राईले गत असोज ११ गते मनाङको हिम लुङ हिमालमा गएको हिमपहिरोमा परी खोटाङको ऐसेलुखर्क गाउँपालिकाका तीन जना श्रमिक बेपत्ता भएको स्मरण गराएका छन् । उनले हालसम्म एक जना घनश्याम राईको शव फेला परे पनि लककुमार गुरुङ र सुरज राईको अवस्था अझै अज्ञात रहेको र आफन्तले सरकारबाट खोजी कार्यमा पर्याप्त तत्परता नदेखाएको गुनासो गरिरहेको सदनलाई जानकारी गराएका छन् ।
उनले त्रिपुरेश्वरमा भएको आत्मदाहको घटना पनि उठान गरेका छन् । उक्त घटनामा मृत्यु भएका अर्जुन दोङ तामाङको परिवारसँग सरकारले संवाद गर्न नखोजेको भन्दै उनले आपत्ति जनाएका छन् । पीडित परिवार न्याय र वार्ताको माग गर्दै गृह मन्त्रालय पुगे पनि मन्त्रीसँग भेटघाट गर्न नपाएको भन्दै उनले सरकारको संवेदनशीलतामाथि प्रश्न उठाएका छन् ।
उनले पोल्याण्डमा कार्यरत नेपाली श्रमिकले भोग्नुपरेको समस्याबारे पनि सरकारको ध्यानाकर्षण गराएका छन् । त्यहाँका बैंकहरूले नेपाली श्रमिकलाई खाता खोल्न नदिएको र त्यसको प्रमुख कारण नेपाल ‘ग्रे लिस्ट’मा पर्नु रहेको गुनासो श्रमिकहरूबाट आएको राईले उल्लेख गरेका छन् । खाता खोल्न नपाउँदा पारिश्रमिक लिन र दैनिकी चलाउन समस्या भएको भन्दै उनले यस कूटनीतिक र प्रशासनिक समस्या समाधान गर्न परराष्ट्र र श्रम मन्त्रालयलाई तत्काल सक्रिय हुन आग्रह गरेका छन् ।
