सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रिमा विश्वकर्माले संसदको कामकारबाही सञ्चालन शैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
प्रतिनिधि सभाको बुधवार बसेको बैठकमा उहाँले केही दिनयता संसद ‘अटोमेटेड’ भर्सनमा सञ्चालन भइरहेको भन्दै हतारमा विधेयकहरू पारित गर्ने प्रवृत्तिप्रति प्रश्न उठाउनुभएको हो । सांसद विश्वकर्माले एकै दिनमा तीनदेखि चारवटा विधेयक पेश गर्ने, छलफल गर्ने र ७२ घण्टाभित्र संशोधन हाल्नुपर्ने बाध्यात्मक अवस्थाले कानून निर्माणको गुणस्तर खस्किएको जिकिर गर्नुभयो । उहाँले विशेषगरी मातृत्व, गर्भपतन र प्रजनन स्वास्थ्यजस्ता महिलाको अधिकार र स्वास्थ्यसँग सम्बन्धित संवेदनशील विधेयकहरूलाई एउटै ‘बास्केट’मा राखेर हतारमा पारित गरिएको भन्दै चिन्ता प्रकट गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले कानून निर्माणको यो पूर्वाधारमै पर्याप्त समय नलगाउने हो भने जनतालाई कसरी कानूनको गुणस्तरको सुनिश्चितता गराउने ?’
कानून बनाउँदा त्यसको दूरगामी प्रभाव र जगको मूल्याङ्कन हुनुपर्नेमा जोड दिँदै उहाँले संसदलाई ‘विधेयक म्याराथन’को थलो नबनाउन आग्रह गर्नुभयो । सभामुखमार्फत सरकार र सदनको ध्यानाकर्षण गराउँदै सांसद विश्वकर्माले हतारको कानून निर्माणले गलत नजिर बसाल्ने र जनताप्रति जवाफदेही हुन नसकिने चेतावनी दिनुभयो । संसदमा विधेयकहरूमाथि पर्याप्त छलफल नहुँदा त्यसले समाज र राष्ट्रमा पार्ने असरबारे व्यापक बहस हुन आवश्यक रहेको उहाँको भनाइ छ ।
