श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गर्दै जनताका जल्दाबल्दा मुद्दाहरूमा परिणाममुखी काम गर्न चुनौती दिएका छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले रेमिट्यान्सले धानेको अर्थतन्त्र, युवा पलायन, बढ्दो महँगी र भ्रष्टाचारजस्ता विषयमा सरकारले बेवास्ता गरेको भन्दै आलोचना गरेका छन्।
प्रमुख सचेतक राईले सरकारको सुशासनको प्रतिबद्धता केवल नारामा मात्र सीमित रहेको आरोप लगाएका छन्।
राईले निर्वाचन क्षेत्रका विकास निर्माणका काम अलपत्र परेको र सरकारी विद्यालयको गुणस्तर खस्किएको भन्दै शिक्षा क्षेत्रको बेथितिप्रति ध्यानाकर्षण गराएका छन्।
भ्रष्टाचारका पुराना फाइल खोल्ने सरकारको दाबीमाथि उनले प्रश्न गरेका छन्। ‘गिरिबन्धु टी–स्टेट होस् वा ह्वाइट बडी काण्ड, तपाईंहरूले ठूलो छाती भएको दाबी गर्नुहुन्थ्यो, के कुराले रोक्यो? पपुलारिटीका लागि मात्र बोल्ने हो कि?’ भन्दै उनले सरकारलाई दुईतिहाइको नजिक रहेको शक्ति प्रयोग गरी भ्रष्टाचारीलाई कारबाही गर्न चुनौती दिएका छन्।
राईले आफ्नो पार्टी भ्रष्टाचारीलाई कारबाही गर्ने जुनसुकै प्रक्रियामा सरकारलाई सहयोग गर्न तयार रहेको स्पष्ट पारेका छन्।
उनले सरकारलाई स्मरण गराउँदै भने, ‘हामीले पटक–पटक उठाएको फ्रि भिसा र फ्रि टिकटको विषय होस् वा किसानका समस्या, सरकारले केवल टालटुले काम मात्र गरेको छ। आफैँले खनेको खाल्डोमा आफैँ डुब्ने काम नहोस्। आन्दोलनकारीलाई जेल हालेर परिवर्तन आउँदैन।’
जेन–जी आन्दोलनलाई दमन गरेको भन्दै उनले सरकारको नियतमाथि प्रश्न उठाएका छन्।
उनले सदन बन्द रहेको समयमा सङ्घीयता, लोकतन्त्र र समावेशिताविरुद्ध कुनै पनि ‘कुचेष्टा’ नगर्न सरकारलाई सचेत गराउँदै राईले आफ्नो दल सतर्क रहेको उल्लेख गरेका छन्।
