काठमाडौं । भोटेकोसीमा आएको भीषण बाढीका कारण प्रभावित ३३६ जनाको हवाई उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ६ देशका ४५ जना विदेशी नागरिक पनि रहेका छन्।
सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार नेपाली सेनाको करिब ४ हजार फौजको समन्वयमा घाइते तथा प्रभावितको खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत वितरणको काम भइरहेको छ।
बिहीबार बिहानदेखि रसुवाका टिमुरे, धुञ्चे र मैलुङ क्षेत्रबाट प्रभावित नागरिकलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा ल्याइएको हो।
सेनाले बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै घाइतेको तत्काल उपचार र आवश्यक राहत सामग्री वितरणलाई निरन्तरता दिएको जनाएको छ।
