दैलेखको जलजले क्षेत्रमा चिनियाँ प्राविधिक टोलीद्वारा भइरहेको प्राकृतिक ग्याँस उत्खनन कार्य अचानक रोकिएपछि त्यसको आधिकारिक जानकारी माग्दै प्रतिनिधि सभामा प्रश्न उठेको छ।
नेपाली काँग्रेसका सांसद कालीबहादुर सहकारीले उत्खनन क्षेत्र सुरक्षाकर्मीको मात्र नियन्त्रणमा रहनु र प्राविधिक पक्ष बेपत्ता हुनुले शंका उब्जाएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सहकारीले आफूले हालै गरेको अनुगमनका क्रममा उक्त क्षेत्रमा कुनै पनि विशेषज्ञ वा प्राविधिक टोली नभेटिएको जानकारी सदनलाई गराएका छन्।
उनले असोज १४ गते जलजले पुग्दा त्यहाँ सुरक्षाका लागि खटिएका प्रहरी अधिकृतबाहेक अन्य कोही नभएको र योजनाको काम पूर्ण रूपमा स्थगित अवस्थामा रहेको बताएका छन्। सांसद सहकारीका अनुसार उक्त आयोजनाबाट कम्तीमा ५० वर्षसम्म पुग्ने मिथेन ग्याँस उत्पादन हुने प्रारम्भिक दाबी गरिएको थियो।
उनले भने, ‘यति ठूलो महत्व बोकेको राष्ट्रिय गौरवको आयोजनाका बारेमा सरकार किन बेखबर छ ? सरकार र प्राविधिक टोलीबीच समन्वय छ कि छैन वा कुनै प्रतिवेदन तयार हुँदैछ ? यदि आफ्नो देशमा उत्पादित वस्तुबाट आत्मनिर्भर हुन सकिन्छ भने हामी किन परनिर्भरताको पर्खाइमा बस्ने ? यस विषयमा सरकारले अविलम्ब जनमानसमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ।’
उनले हाल मुलुकमा खाना पकाउने ग्याँसको चरम अभाव र हाहाकार भइरहेको अवस्थामा स्वदेशी स्रोतको उत्खननमा भइरहेको ढिलासुस्तीप्रति आपत्ति जनाएका छन्। आयातित ग्याँसमा निर्भर रहनुपर्ने बाध्यता रहेका बेला देशमै उपलब्ध ग्याँस उत्खननको कार्य अलपत्र पार्नु गम्भीर लापरबाही भएको उनको भनाइ छ।
