राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. धनञ्जय रेग्मीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आर्थिक अवस्था सुधार गर्न र वायुसेवाको विश्वसनीयता बढाउन तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक रहेको बताएका छन्।
सोमवार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उनले निगमको व्यवस्थापकीय सुधार, डिजिटल सेल्स र रुट व्यवस्थापनमा तत्काल पहल गर्नुपर्नेमा जोड दिएका छन्।
सांसद डा. रेग्मीले निगमले एयरफेयर (हवाई भाडा) नियन्त्रण गर्न थप सक्रिय भूमिका खेल्नुपर्ने बताएका छन्। निगमको घाटा न्यूनीकरण गर्न उनले वित्तीय अडिट, रुट प्रोफिट्याबिलिटी (कुन रुटमा कति नाफा छ भन्ने विश्लेषण) तथा कार्गो र ग्राउण्ड ह्यान्डलिङको छुट्टै लेखा प्रणाली लागू गर्न सुझाव दिएका छन्।
जहाजको ओभरहल (मर्मत) कार्य समयमै हुन नसक्दा उडान तालिका प्रभावित हुने गरेको विषयमा ध्यानाकर्षण गराउँदै उनले व्यवस्थापकीय कमजोरी औंल्याएका छन्।
उनले भने, ‘निगमले बजार मूल्यभन्दा केही सस्तो दरमा सेवा प्रदान गर्न सके मात्र अन्य विदेशी एयरलाइन्सको अस्वाभाविक भाडा वृद्धि रोक्न सकिन्छ। यसले पर्यटन प्रवर्द्धनमा समेत मद्दत पुर्याउँछ। यो सन्धिमा हस्ताक्षर नगरेसम्म अन्तर्राष्ट्रिय स्तरमा सहजै विमान लिजमा लिन सक्ने अवस्था छैन।’
थप विमान लिजमा ल्याउने सम्बन्धमा डा. रेग्मीले ‘केपटाउन कन्भेन्सन’मा नेपालले तत्काल हस्ताक्षर गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले तीन वर्षको समयसीमा तोकेर व्यवस्थापन सुधार गरे मात्र निगमलाई व्यावसायिक रूपमा सफल बनाउन सकिने विश्वास व्यक्त गरेका छन्।
समितिको बैठकमा उनले मन्त्रालय र निगम नेतृत्वलाई स्पष्ट टार्गेटसहित काम गर्न र आवश्यक परे संसद्को समितिले समेत सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्। निगमको डिजिटल रूपान्तरण र मर्मतसम्भार प्रणालीमा सुधार ल्याउन सके मात्र निगमले प्रतिस्पर्धामा टिक्न सक्ने उनको भनाइ छ।
