काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली नदी आसपासका विभिन्न क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ५ करोड रुपैयाँ बराबरको राहत प्याकेज घोषणा गरेको छ।
एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र केन्द्रीय उपाध्यक्ष रोजिना प्रधान राईसहितको टोलीले नुवाकोटको बट्टार, त्रिशूली बजारलगायत बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी राहत सामग्री वितरण गरेको छ।
स्थलगत निरीक्षणपछि डा. महतोले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा देखिएको विवरणभन्दा वास्तविक क्षति निकै भयावह रहेको बताए। उद्धार तथा राहतको प्राथमिक समय भएकाले पहिलो चरणमा खाद्यान्न, लत्ताकपडा, औषधि र टेन्टलगायत सामग्री लिएर प्रभावित क्षेत्रमा पुगेको उनले जानकारी दिए।
डा. महतोका अनुसार पहिलो चरणमा ५ करोड रुपैयाँ बराबरको राहत वितरण गरिनेछ। त्यसपछि नेपाल सरकारसँग समन्वय गरी प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणमा गैरआवासीय नेपालीको भूमिकाबारे छलफल गरिनेछ।
एनआरएनए केन्द्रीय उपाध्यक्ष रोजिना प्रधान राईले विपद्को समयमा विदेशमा रहेका नेपालीहरूको मन पनि पीडितसँगै रोएको बताउँदै प्रभावितलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरिन्।
उनका अनुसार संघले युएन मापदण्डअनुसारका पाल, खाद्यान्न, औषधिलगायत अत्यावश्यक सामग्री प्रभावित क्षेत्रमा पुर्याएको छ। स्थानीय प्रशासन, प्रमुख जिल्ला अधिकारीको कार्यालय तथा स्थानीय तहसँग समन्वय गरेर राहत वितरणलाई प्रभावकारी बनाइने उनले बताइन्।
भूकम्प तथा कोभिड–१९ को समयमा पनि संघले सक्रिय भूमिका निर्वाह गरेको स्मरण गर्दै राईले आगामी दिनमा प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा समेत सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाइन्।
यसैबीच, प्रभावित क्षेत्रमा नेपाली सेनालगायत सुरक्षा निकायले बेपत्ताको खोजी तथा घाइतेको उद्धार कार्य जारी राखेका छन्। एनआरएनएको टोलीले नुवाकोटपछि अन्य बाढीपहिरो प्रभावित जिल्लामा समेत पुगेर राहत वितरण गर्ने जनाएको छ।
