२३ असोज, काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानलाई श्रमिकहरूले पाउनुपर्ने चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ।
विभागका अनुसार केही रोजगारदाता तथा प्रतिष्ठानले श्रमिकलाई चाडपर्व खर्च नदिएको भन्दै गुनासो प्राप्त भइरहेका छन्। सोही विषयलाई ध्यानमा राख्दै विभागले कानुनअनुसार उक्त सुविधा उपलब्ध गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको हो।
श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रचलित धर्म, संस्कृति र परम्पराअनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले वर्षमा एकपटक आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ।
कानुनबमोजिमको सुविधा नपाएका श्रमिक तथा कामदारलाई आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी तथा निवेदन दिन विभागले अनुरोध गरेको छ। साथै, इमेलमार्फत आफ्ना गुनासा, उजुरी तथा सुझाव पठाउन सकिने व्यवस्था गरिएको छ। यसका लागि विभागले क्यूआर कोडको सुविधासमेत उपलब्ध गराएको छ।
विभागका प्रवक्ता मणिनाथ गोपले केही रोजगारदाता तथा प्रतिष्ठानबाट श्रमिकलाई चाडपर्व खर्च उपलब्ध नगराइएको गुनासो प्राप्त भइरहेको बताए। उनले कानुनअनुसार श्रमिकलाई उक्त रकम उपलब्ध गराउन सम्बन्धित प्रतिष्ठानलाई निर्देशन दिइएको र नियम पालना नगर्ने रोजगारदातामाथि श्रम ऐनअनुसार कारबाही गरिने बताए।
