काठमाडौँ । म्यानमार सरकारले पेट्रोलियम पदार्थको साप्ताहिक मूल्य सीमा (प्राइस क्याप) मा वृद्धि गरेको छ । म्यानमारको पेट्रोलियम पदार्थ नियामक विभागले शुक्रवार सार्वजनिक गरेको नयाँ दर अनुसार इन्धनको मूल्यमा वृद्धि गरिएको हो ।
नयाँ मूल्य सूचीअनुसार ९२ रोन पेट्रोलको मूल्य प्रतिलिटर ३,७१० क्यात (करिव १.७६ अमेरिकी डलर) र ९५ रोन पेट्रोलको मूल्य ३,८१५ क्यात कायम गरिएको छ । त्यसैगरी, डिजेलको मूल्य प्रतिलिटर ४,२४० क्यात र प्रिमियम डिजेलको मूल्य ५,१४० क्यात पुगेको विभागले जनाएको छ ।
यसअघि अगस्ट २१ देखि २७ सम्मको सातामा ९२ रोन पेट्रोलको मूल्य ३,५७५ क्यात र ९५ रोनको ३,६९० क्यात तोकिएको थियो । सोही अवधिमा डिजेलको मूल्य ४,०७० क्यात र प्रिमियम डिजेलको ४,९२५ क्यात रहेको थियो ।
विभागकाअनुसार दक्षिणपूर्वी एसियामा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य निर्धारणका लागि मानक मानिने ‘मिन अफ प्लाट्स सिंगापुर’ मूल्य सूचकांकका आधारमा म्यानमारको आन्तरिक इन्धनको मूल्य प्रभावित भएको हो ।
म्यानमारमा इन्धनको आयात, भण्डारण तथा वितरण सुपरीवेक्षण समितिले बजारमा इन्धनको आपूर्ति सुनिश्चित गर्न र मूल्यमा स्थिरता कायम गर्न नियमित अनुगमन गर्दै आएको छ । सोही समितिको मार्गनिर्देशनमा पेट्रोलियम पदार्थ नियामक विभागले साप्ताहिक रूपमा इन्धनको अधिकतम मूल्य सीमा निर्धारण गर्ने गर्दछ ।
