२७ असोज, काठमाडौं । बुढीगण्डकी र यसको सहायक नदी स्यार खोलाको करिडोरमा आएको बाढीबाट अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मर्मत तथा पुनर्स्थापनाको कामलाई तीव्र बनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठका अनुसार बाढीबाट क्षतिग्रस्त विद्युत् प्रणालीको मर्मतपछि धार्चे गाउँपालिकाबाहेकका सबै क्षेत्रमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा आएको छ।
खोर्लाबेंसीभन्दा माथिको क्षेत्रमा सडक पहुँच नहुनु र विद्युत् लाइन पूर्ण रूपमा क्षतिग्रस्त हुनुले पुनर्स्थापनामा कठिनाइ भएको मन्त्रालयले जनाएको छ। उक्त क्षेत्रमा विद्युत् सेवा विस्तार गर्दै खोर्लाबेंसीसम्म जतिसक्दो चाँडो आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको छ। नेपाल विद्युत् प्राधिकरणको आरुघाट वितरण केन्द्रका अनुसार सोमबार बिहानदेखि धार्चे गाउँपालिकामा समेत पुनर्स्थापनाको काम सुरु गरिएको छ।
यसअघि आरुघाट क्षेत्रको विद्युत् सेवा पुनः सञ्चालनमा ल्याइसकिएको छ। मन्त्रालयका प्रवक्ता मोहन शाक्यका अनुसार बाढीका कारण विद्युत् सेवा अवरुद्ध हुनासाथ प्राधिकरणले मर्मतको काम थालेको थियो। त्यसको करिब १० घण्टाभित्रै भीमसेन थापा गाउँपालिकाका वडा नम्बर २, ३ र ४ मा विद्युत् आपूर्ति पुनः सञ्चालन गरिएको थियो।
त्यसैगरी, आरुघाट बजार तथा आरुघाट गाउँपालिकाअन्तर्गत डाँडागाउँ र आरुपोखरी शाखामा पनि विद्युत् सेवा सुचारु भइसकेको छ। बाढीबाट प्रभावित सबै स्थानमा यही हप्ताभित्र विद्युत् आपूर्ति पुनः सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार बाढीले गोरखा र धादिङ जिल्लाका विभिन्न स्थानमा विद्युत् वितरण प्रणालीका साथै जलविद्युत् आयोजनाहरूमा पनि क्षति पुर्याएको छ। बुढीगण्डकी, टाइम्स इनर्जी प्रालि (३४१ मेगावाट), दोभान खोला (२४.५ मेगावाट), यारु खोला (३०.५९ मेगावाट) र माछा खोला (१६ मेगावाट) लगायतका जलविद्युत् आयोजनामा क्षति पुगेको छ।
बाढीबाट आयोजनाका क्याम्प क्षेत्र, निर्माणमा प्रयोग हुने उपकरण तथा सामग्री, बेलिब्रिज, पहुँच सडक र आयोजना स्थलसम्म पुग्ने पुलहरूमा क्षति भएको मन्त्रालयले उल्लेख गरेको छ। यसले आयोजनासम्बन्धी पूर्वाधार तथा निर्माण कार्यमा समेत असर पारेको छ।
गोरखाको धार्चे गाउँपालिकाका विभिन्न स्थानमा ७० भन्दा बढी उच्च भोल्टेजका पोल क्षतिग्रस्त भएका छन्। त्यसैगरी, सोती, आर्खेत र आरुघाट बजार क्षेत्रमा विद्युत् वितरण लाइनका पोलहरूमा पनि क्षति पुगेको छ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थित स्याउली बजार क्षेत्रमा भने न्यून भोल्टेजका छवटा विद्युत् पोलमा क्षति पुगेको मन्त्रालयले जनाएको छ।
